इटहरीका मेयरलाई खुला–पत्र !

Newslaya Home

इटहरीका मेयरलाई खुला–पत्र !

मङ्गलबार १७, साउन २०७४

आदरणीय श्री द्वारिकलाल चौधरीज्यू,

तपाईले खनारतिरका मित्रहरूले बोलाएको समयभन्दा ढिलो आयोजना गरिएको कार्यक्रम छोडेर हिँड्नुभयो । समयको महत्त्व बुझाउन खोज्नुभयो । राम्रो गर्नुभयो । इटहरीका मेयरले दिए शुभ सङ्केत शीर्षकमा सम्पादकीय लेखे साथीहरूले । प्रशंसा गर्दै समाचार लेखे । कृपया विषयको यो अन्तर्यलाई बुझ्नुहोस् ।
त्यसपछि यो पोस्ट पढेर म किमार्थ पनि रिसाउने छैन भनेर प्रतिबद्ध हुनुहोस् । किनभने बुझ्ने मान्छेले पहिले अरूका कुरा राम्ररी सुन्छ । मन परे मान्छ । मन नपरे मलाई यो–यो कुरा चाहिँ ठिक लागेन भन्छ । प्रतिक्रिया दिन्छ । तर्क गर्छ । तपाई पनि त्यसै गर्नुहोस् ।

पहिलो कुरा आजदेखि एक महिनासम्म तपाई नरिसाउनुहोस् । रिस खा आफू बुद्धि खा अर्को भन्ने नेपाली उखान छ । रिसले, आवेगले आफैँलाई पिर्छ ।
यस बिचमा तपाईको मन खाने इटहरीको कोही एक जना पत्रकार मित्रलाई तपाईको प्रेस सल्लाहकार नियुक्त गर्नुहोस् । अनि ऊसँग बसेर इटहरीमा कति मिडिया छन् ? कति पत्रकार छन् ? को–को झोला बोकेर सङ्घर्ष गर्दै छन् ? को–को टेबुल सजाएर बसेका छन् ? को–कोसँग पत्रकार महासङ्घको कार्ड छ ? को–कोसँग प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर आदि सङ्घ–सङ्गठनको कार्ड छ ? को पत्रकारसँग त्यस्तो कार्ड छैन ? कसको प्रभाव कति छ ? यिनै प्रश्नहरूको सरोफेरोमा रहेर एउटा सूची तयार गर्नुहोस् । त्यसपछि नगरपालिकाको समन्वयमा ती सबै पत्रकार तथा मिडिया सञ्चालकहरूलाई भेला गर्नुहोस् । त्यो भुइँचालो जाँदा लिरिक–लिरिक हल्लिने हलमा बोलाउनुभयो भने आउँदिनँ, अन्यथा म पनि आउँछु ।

पहिलो कुरा आजदेखि एक महिनासम्म तपाई नरिसाउनुहोस् । रिस खा आफू बुद्धि खा अर्को भन्ने नेपाली उखान छ । रिसले, आवेगले आफैँलाई पिर्छ ।

त्यसपछि हामी छलफल गरौँ, इटहरीको पत्रकारिताको शुद्धीकरणका लागि के–के गर्न सकिन्छ ? के–के गर्नुपर्छ ? क–कसले के गर्ने ? कहिले गर्ने ? त्यसका लागि आवश्यक स्रोत–साधन कसरी जुटाउने ? समय तोकेरै कार्यतालिका बनाऔँ । खासमा काम गर्ने तरिका यो हो । पत्रकारिताको क्षेत्रमा मात्र होइन, शिक्षाका सवालमा, सुरक्षाका सवालमा, स्वाथ्यका सवालमा, व्यवसायका सवालमा पनि गर्नुपर्ने यसरी नै हो ।
प्लिज सार्वजनिक कार्यक्रममा पत्रकारसँग नरिसाउनुहोस् ।
होला कोही पत्रकारले रक्सी खाएर आएर तपाईसँग पैसा माग्यो होला । तपाईको आँगनमा उभिएर तपाईसँगै द्वारिकलाल चौधरी खोइ ? भनेर सोध्यो होला । सवाल यो होइन कि त्यो पत्रकारले त्यसो किन गर्यो ? सवाल चाहिँ यो हो कि त्यसयता बीस वर्ष बिते पनि तपाई अझै त्यही प्रश्न किन गरिरहनुभएको छ । आजसम्म तपाईले किन यसको चित्तबुझ्दो जवाफ पाउनुभएको छैन ? यति सामान्य प्रश्नको भारले तपाई किन यत्रो वर्ष थिचिइरहनुभएको छ ? अनि सवाल यो पनि हो कि एउटा जिम्मेवार राजनीतिक पार्टीको जिम्मेबार पदमा बसेर तपाईले त्यस्ता पत्रकारको शुद्धीकरणका सवालमा पत्रकार महासङ्घका पदाधिकारीहरूसँग बसेर कति पटक छलफल गर्नुभो ? के पत्रकारहरूलाई झपारेरै सही बाटोमा हिँडाउन सकिन्छ जस्तो लाग्छ तपाईलाई ? इटहरीका कोही पत्रकार तपाईसँग सोझो संवाद गर्न सक्षम छैनन् भन्ने जस्तो लागिरहेको छ हो तपाईलाई ? भेटघाट होटल छेऊछाऊका घरहरूमा कति वर्ष के–के उद्देश्य भएका, के–के व्यवसाय गर्ने मानिसहरू बसे वा बस्दै छन्, हामीलाई थाहा छैन जस्तो लाग्छ हो तपाईलाई ? के तपाईले सरस्वती पूजाको चन्दा माग्न आएका विद्यार्थीहरुलाई पाँच रुपियाँ पनि नदिई झपारेर पठाउनु भएको होइन ? अब तिनै विद्यार्थीहरू दसैँ–तिहारपछि देउसी–भैलो खेलेर जम्मा भएको पैसामा अलिकति नगरपालिकाले पनि थपिदिनुप¥यो, हामी शैक्षिक भ्रमणमा जान्छौँ भन्दै निवेदन लिएर आए भने के भन्नुहुन्छ ? कि टीकादत्त राईले गरेको जस्तो तेल सहयोग गर्नुहुन्छ कि त्यो भन्दाअघिको अधिकृत पशुपति खतिवडाले आठ कक्षा पढ्ने बालबालिकालाई भने जस्तो, घुम्न–मोज गर्न तिमीहरू जाने हामीले पैसा किन दिने भन्नुहुन्छ ? खैर यो प्रसङ्गलाई यतिमै छोडौँ ।

 तपाईसँग कुनै राजनीतिक पार्टीको बहुमत छ भन्दैमा तपाईको आङको जुम्रा देखाउन डराउँदैन फोर-जी पुस्ता । रूपान्तर गर्नुहोस् आफूलाई ।

तपाईका केही शुभेच्छुक साथीहरूले मलाई बारम्बार तपाईको व्यक्तिगत कमी-कमजोरी औँल्याएर आलोचना नगर्न सुझाएका छन् । तर, तपाई त अब सरकारले दिएको गाडीमा झन्डा फररर पारेर हिँड्नुपर्ने मान्छे हो । मेरो नगरको मेयर हो । त्यो झन्डाको मर्यादाको रक्षा हुनुपर्छ कि पर्दैन तपाईबाट ?
तपाईले इटहरीमा आयोजित सूचनाको हकसम्बन्धी राष्ट्रिय सूचना आयोगको कार्यक्रममा भन्नुभयो, ‘म अरूहरू जस्तो अन्तबाट बसाइँ सरेर आएको मान्छे होइन, यही माटोमा जन्मेको भूमिपुत्र हुँ ।’
के भनेको यो तपाईले ? तपाईले हामी बस्नका लागि इटहरी रोजेर अन्तबाट आएका मान्छेलाई चुनौती दिनुभएको किन यसरी ? के इटहरी विकासको, सुधारको ठेक्का तपाईले मात्र लिने हो ? यो ठाउँ तपाईका कुनै आफन्तको बिर्ता हो अझै पनि ? खबरदार, तपाई मेरो मेयर हो, यसरी दायाँ–बायाँ बोल्ने होइन तपाईले । तपाईको विचार सबैलाई समेट्ने खालको हुनुपर्छ । कसैलाई होच्याउने, खसाउने, कुनै वर्ग वा समुदायको भावना भड्काउने खालको हुनुहुँदैन । तपाईसँग कुनै राजनीतिक पार्टीको बहुमत छ भन्दैमा तपाईको आङको जुम्रा देखाउन डराउँदैन फोर-जी पुस्ता । रूपान्तर गर्नुहोस् आफूलाई ।
कृपया मसँग नरिसाउनहोस् । मसँग रिसाएर के गर्नुहुन्छ ? बेकारमा तपाईको अनुहार मात्र रातोपिरो हुन्छ । बरू सुविद गुरागाई यी शब्दहरू लेख्न किन बाध्य भयो ? त्यसको कारणहरू खोजी गर्नुहोस् र निरुपणको प्रयास गर्नुहोस् । यसमै समग्र इटहरीको भलाइ छ ।

खबरदार, तपाई मेरो मेयर हो, यसरी दायाँ–बायाँ बोल्ने होइन तपाईले । तपाईको विचार सबैलाई समेट्ने खालको हुनुपर्छ ।

यसै मेसोमा तपाईभन्दा पनि कडा मान्छे, पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्धित एउटा प्रसङ्ग सुन्नुहोस् । उहाँले इटहरीको जनता बस्तीमा आयोजित एउटा जनसभामा एकदिन भन्नुभयो, ‘यी पत्रकारहरू भनेका को हुन् ? के यिनीहरू अर्कै ग्रहबाट आएका हुन् ? यस्तै हो भने यिनीहरूलाई जनताले यसो हल्का-फुल्का धक्का दिँदा पनि केही फरक पर्दैन ।’ नेपालका केही पत्रकारहरूले उहाँलाई राजकुमारी डायनालाई पापाराजी फोटोग्राफरहरूले गरे जस्तो खेदोपाइलो गरे भन्ने उहाँको गुनासो थियो ।
त्यसको एक दशकपछि रिपोटर्स क्लबको कार्यक्रममा उहाँको फरक मन्तव्य सुन्न पाइयो । उहाँले ऋषि धमलालाई देखाउँदै भन्नुभयो, ‘मने उहाँ ऋषिजीसँग म निकै प्रभावित छु । उहाँले बोलाउनुभो, अब नआउनुु पनि कसरी ? उहाँसँग हाम्रो सम्बन्ध कस्तो भन्नु ? माया बैगुनी, नभइ नहुनी जस्तो !’
- सुविद गुरागाई
इटहरी–२, सुनसरी ।