मनै फाटे के ले सिउने के ले टाल्ने ?

Newslaya Home

मनै फाटे के ले सिउने के ले टाल्ने ?

मङ्गलबार १७, साउन २०७४

“पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
त्यहीसाल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अरुणा लामाको माथिको गीतमा भने जस्तो अवस्थामा पुग्न लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र संविधान निर्माणदेखि नै असन्तुष्ट रहँदै आएको मधेसी मोर्चालाई मनाएर निर्वाचन सम्पन्न गराउन वर्तमान सरकारलाई निकै चर्को परेको छ । मधेसी मोर्चालाई मनाउँदा एमाले रिसाउने र एमालेलाई मनाउँदा मधेसी मोर्चा रिसाउने समस्याका कारण अफ्ठेरोमा परेको प्रचण्ड सरकार अहिले माथि उल्लेख गरिएको अरुणा लामाको गीतका अघिल्ला दुई हरफले भने झैं अवस्थामा पुगिसकेको छ ।
निर्वाचन बहिस्कार गरेर आन्दोलन घोषणा गरेको मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने प्रयास स्वरुप सरकारले नयाँ संविधान संशोधन प्रस्ताव तयार गर्नुका साथै तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप गर्ने निर्णय गर्यो । तर नयाँ संशोधन प्रस्तावलाई पहिलेको भन्दा खतरनाक र बढी राष्ट्रघाती भनेको एमालेले तराईका केही जिल्लामा स्थानीय तह थप गर्ने कुरामा पनि सहमति जनाउन झन् मानेन ।
पहिलो संविधान संशोधन विधेयकमाथि संसद्मा छलफल समेत गर्न नदिएको एमालेले अहिले भने संशोधनमा छलफल गर्न दिएपछि संसद्मा संशोधन विधेयकमाथि बुधबारदेखि छलफल सुरु भएको छ । तर नयाँ संशोधन विधेयकमाथिको छलफल अघि बढाउन समेत सुरुमा एमाले मानेन । तराईका केही जिल्लामा स्थानीय तहको संख्या बढाउन नहुने भन्दै एमालेले संसद्मा अवरोध जारी राख्यो । अन्ततः सरकारले स्थानीय तहको संख्या नथप्ने भनेपछि एमालेले संसद् खुलायो र संसद्मा संविधान संशोधन विधेयकमाथि छलफल सुरु भएको छ । पहिले संविधान संशोधन विधेयकमाथि संसद्मा छलफल समेत गर्न नदिएको एमालेले अहिले संशोधन विधेयकको छलफलमा भाग लिएपनि त्यसलाई पारित हुन भने नदिने रणनीति लिएको छ ।
तर जब सरकारले तराईमा स्थानीय तहको संख्या नबढाउने भनेर एमालेसँग सहमति गर्यो तब तराईमा स्थानीय तहको संख्या बढाउने भनेर फकिएको मधेसी मोर्चाले असन्तुष्टि मात्र जनाएन आन्दोलन गर्ने चेतावनी समेत दियो । एमालेसँग नयाँ सहमति गर्दै मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या तत्काल नबढाउने निर्णय गरेकोप्रति क्रुद्ध भएको मधेसी मोर्चाका नेताहरु त्यसपछि बिहीबार बिहान बालुवाटार पुगे । निकै तातिएर बालुवाटार पुगेका मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता लिइनसकेको आश्वासन दिएपछि केही सेलाएर बालुवाटारबाट बाहिरीएका थिए ।
हुन त बिहीबार सरकार, नेकपा एमाले र मधेसी मोर्चाबीच तराईमा स्थानीय तहको संख्या थप गर्ने विषयमा छलफल भएको छ । छलफलमा एमालेले संख्या थप गर्ने–नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ दिएको छैन । यसअघि स्थानीय तहको संख्या थप गर्ने निर्णय गर्दा आफुलाई सहभागी नगराएको भन्दै रिसाएको एमालेले. अहिले छलफलमा भाग लिन पाएपछि सहमति जुटाउन सरकारले गरेको पहललाई सकारात्मकरुपमा लिएको मात्रै बताएको छ । स्थानीय तहको संख्या थप्न नहुने भन्दै संसद् र सभाहरुमा समेत चर्को विरोध जनाउँदै आएको एमालेले स्थानीय तहको संख्या थप गर्न दिने छाँटकाँट भने देखाएको छैन । भोलि फेरि स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता लिइनसकेको भनेर मधेसी मोर्चाका नेताहरुलाई किन आश्वासन दिएको भन्दै एमालेले संसद् चर्काउन सक्ने अवस्था छ ।
यता टाल्दा उता फाट्ने र उता टाल्दा यता फाट्ने भने झैं एमालेलाई मनाउँदा मधेसी मोर्चा रिसाउने र मोर्चालाई मनाउँदा एमाले रिसाउने अवस्थाको सामान गरिरहेका प्रधानमन्त्री दाहाललाई यो समस्या समाधान गर्न निकै हम्मे–हम्मे परेको छ । एमाले र मधेसी मोर्चाको असन्तुष्टिलाई टाल्दा–टाल्दा हैरान भएका प्रधानमन्त्री दाहालको मन भने अहिलेसम्म फाटिसकेको छैन । कुनै दिन प्रधानमन्त्री दाहाल “यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो” भन्ने अवस्थामा नपुग्लान् भन्न सकिन्न ।
तसर्थ दलहरु आ–आफ्ना अडानबाट केही कदम पछाडी हटेर सहमति जुटाउँदै निर्वाचन गर्ने वातावरण निर्माणमा लाग्न जरुरी छ । नत्र फेरी मनै फाट्ने अवस्था आयो भने सिलाउने र टाल्ने उपाय नभेटिएला नी !