​कुरौटेको कुरा

Newslaya Home

​कुरौटेको कुरा

- मणिन्द्र भट्टराई
बुधबार १४, भदौ २०७४

पौराणिक कालमा एउटा मान्छे थिए, जहाँ सुकैको समाचार जहाँ सुकै पुर्याउने व्यक्ति थिए, तिनलाई भगवान नारद भनिन्थ्यो र आज पनि हामीले रामायण, महाभारत पुराण आदि पल्टाएर हेर्यौँ भने श्री नारदमूनी, नारद भगवान आदि नामले उल्लेख गरेको पाइन्छ । नारदको भूमिका त्यसबेला भगवान, भगवती भनिएका पात्रहरुको सञ्चारको मुख्य श्रोतको रुपमा थिए । गाउँघरमा हाम्रो चलन चल्तीको भाषामा त्यस्ता मान्छेलाई कन्सुत्ले, कुरौटे आदि भनेर नामाकरण गरेका छौँ । एउटा घरका सासुु बुहारीलाई आपसमा भिडाउन नन्द आमाजुले भूमिका निर्वाह गरेका हुन्छन् ।
छोरा बुहारीलाई झगडा लगाउने अनि बुहारीलार्ई छोरामार्फत् कुटाउने काम सासुले गरेका हुन्छन् । त्यस्तै चुनावको समयमा राजनीतिक पार्टीका नेताहरुलाई भिडाउने काम पनि तिनै कुरौटेहरुले गरि रहेका हुन्छन् । गाउँमा धान खेतमा कुलो फर्काउने, पानी लगाउने, काममा झगडा लगाउने, तल्ला घरकी सानी सिरान घरे पुड्केसँग लाला बाला छोडेर पोइला जानेसम्मको अवस्था सृजना गरी दिने, अरुलाई उचाल्ने पछार्ने र सन्काउने भूमिका कुरौटेहरुले राम्रैसँग निर्वाह गरेका हुन्छन् । भए नभएका कुरा कथुरेर सोझा साझा मान्छेलाई समेत धुतेर विछट्ट बनाइ दिन्छन् । अचेल नेपालमा वर्षामा च्याउ उम्रिए सरी उम्रिएका सय भन्दा बढी राजनीतिक पार्टीलाई फुटाउने, जुटाउने र विघटन गर्नेसम्मका भूमिका निर्वाह गर्ने पनि उनै कुरौटे नै हुन् । 
जसले एउटा सानो गाउँको वार्ड अध्यक्ष जित्न सक्नेसम्मको हैसियत राख्दैन, उसले पनि ५०÷६० जनाको जमात भेला गर्छ र निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पुग्छ, त्यो पनि त्यस्तै कुरौटेको फेला परेर नै हो । अस्ती भर्खर केपी ओली र प्रचण्डलाई एकै ठाउँमा पु¥याउने पनि कुरौटे, फुटाउने पनि कुरौटे, फेरी शेर बहादुर र प्रचण्डको मिलन गराउने पनि कुरौटे । हिजोआज फेरी यिनै प्रचण्ड देउवाको फाटो गराउने फेरी कुरौटेहरु सल्बलाईरहेका छन् । कुरौटेका पनि विभिन्न भूमिका, पद र स्तर हुन्छन् । सासु बुहारी भिडाउने कुरौटे पनि कुरौटे नै हो, पानी पैनीमा झगडा लगाउने पनि कुरौटे नै हो र मन्त्री प्रधानमन्त्री सम्म जुधाउने पनि कुरौटे नै हो । त्यति मात्रै कहाँ हो र, नेपालको राज्य सत्ता दिल्लीको इशारामा परिवर्तन हुन्छ भन्ने जुन कुरो छ, त्यसमा पनि कुरौटेहरुकै महत्वपूर्ण भूमिका रहन्छ ।  
कुरौटे भन्ने बित्तिकै यहाँ अर्थ लाग्न सक्छ, रिस उठेका मान्छेको खराब कुरा मन परेको मान्छेलाई लगाउन मात्रै कुरौटेको काम हैन । अचेल कुरौटेहरुका पनि आचार संहिता बनेका छन् । उनीहरुका छुट्टै नियम छन् । नियमको परिधि नाघ्यो भने उनीहरुलाई पनि कानून लाग्छ । उनीहरुको अचेल नाम फेरिएको छ । 
मलाई पनि त्यस्तै कुरौटे बन्ने सारै सोख थियो, केही वर्ष सक्कली कुरौटे पनि भैटोपलेँ । त्यसैले पनि होला, यदा कदा देखेको, सुनेको, भोगेको कुरा प्याच्च भन्न मन लाग्छ । प्रसंग, इटहरी उपमहानगरपालिकाको हो, २०५४ सालमा निर्वाचन भएर जनप्रतिनिधिहरु आएका थिए र जनताको काम गर्ने, जनतालाई सेवा सुविधा, शिक्षा, रोजगारी तालिम आदिका कुरा पनि भए । सिलाई कटाई सिकाउने भनेर इटहरी नपाले केही सिलाई मेसिन किनेको थियो । १५ वर्ष भयो, ति कहाँ छन्, संरक्षण कसले गर्नु पथ्र्यो ? इटहरीका जनतालाई सुविधा दिन भनेर एउटा एम्बुलेन्स पनि आएको थियो । त्यो निकै वर्षदेखि हराएको छ त्यसको रेखदेख र संरक्षण कसले गर्नु पथ्र्यो ?
एउटा राम्रै खालको दमकल ल्याएको रे, तर त्यो आगलागिमा प्रयोग गर्न ल्याएकोमा त्यसमा प्रयोग हुने मोटर बिग्रियो रे र त्यो दमकलमा नगर प्रहरी चढेर हिड्ने गरी बनाइयो भन्ने सुनियो । त्यो बिग्रीएको मटर कहाँ छ ? कसले खोजी गर्ने ? एउटा पुरानो ट्रक र उपमेयर चढ्ने गाडी (माओवादीले जलाएका) गाडी नगरपालिकाको कम्पाउण्डमा राखिएका थिए ति कहाँ गए ?
अन्त्यमा, आजका जन प्रतिनिधीले त्यसको खोजबिन गर्नु पर्ला नपर्ला ? अनि जनप्रतिनिधि नभएको समयमा राजनीतिक पार्टीहरुको संयन्त्र बनाएर काम गरेको कुरा पनि जानकारीमा आएको छ । त्यो संयन्त्रको उपलब्धी के रह्यो ? यी सबै कुराको चिरफार आजका जनप्रतिनिधिले खोजी गर्ने कि नगर्ने ? यसैका विषयमा प्रस्तुत हुन आएको कुरौटेको कुरा यती आजलाई थप कुरा भेटेपछि कथुर्ने छु ।
- मणिन्द्र भट्टराई