​प्रहरीले मृत भनिएकी महिला जीवितै

Newslaya Home

​प्रहरीले मृत भनिएकी महिला जीवितै

सोमबार ३०, साउन २०७४

इटहरी । प्रहरीले मृत्यु भएको भनिएकी एक व्यक्ति जीवितै रहेको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले बुढी खोलामा आएको बाढीले इटहरी ४ मा रहेको गैरी गाउँकी माया राईको मृत्यु भएको जानकारी दिएको थियो । सोही जानकारीका आधारमा समाचार सम्प्रेषण गरिएपनि उनको मृत्यु नभएको उनका छिमेकीहरुले जानकारी दिएका छन् । 
भोजपुर घोडेटार घर भई गैरीगाउँ बस्ने ३२ वर्षिया माया राईको मृत्यु भएको भनि प्रहरीले जानकारी दिएपनि उनको मृत्यु नभएको छिमेकीहरुले जनाएका छन् । उनका तीन वर्षिय छोरा रुपेश राई, ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको छ । 
्माया र उनकी अर्की एक छोरी बाँचेकी बताइएको छ । मृतक र बेपत्ताको सम्बन्धमा प्रहरीसमेत अन्यौलमा देखिन्थ्यो । सुकुम्बासी उक्त वस्तीको जग्गा भूमीहीनहरुको भन्दा हुने खानेहरुको कब्जामा बढी रहेको बताइएको छ । उनीहरुले जग्गा र त्यसमा बनाइएको घर भाडामा लगाउने गरेका छन् । त्यसैले गाउँमा को र कति मानिस थिए भन्ने नै यकिन हुन गाह्रो रहेको बताइएको छ ।
बाढी र वर्षाका कारण शुक्रबार र शनिबार गरी इटहरीमा आठ जनाको मृत्यु भएको छ । बाढीमा परी कम्तिमा पाँच जना अझै बेपत्ता छन् भने एक जना महिला तीन घण्टा पौडी खेलेर बाँच्न सफल भएकी थिइन् ।