भारतको कडाइले नाका प्रभावित

Newslaya Home

भारतको कडाइले नाका प्रभावित

बुधबार २५, साउन २०७४

भैरहवा  । भारतीय सुरक्षा बल (एसएसबी)ले सीमामा आवतजावत गर्ने सर्वसाधारण तथा मालबाहक सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि भैरहवा–सुनौली नाका प्रभावित भएको छ । अहिले भैरहवा–सुनौली नाकामा झन्डै पाँच सयभन्दा बढी मालबाहक सवारीसाधन जाममा परेका छन् । एसएसबीले भारत प्रवेश गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई एक-एक गरी पूर्ण चेकजाँच गर्दा सीमामा मालबाहक सवारीसाधनको जाम बढेको हो । सर्वसाधारणले समेत आवतजावतमा अप्ठ्यारो महसुस भएको बताएका छन् । अहिले नेपाल र भारत दुवैतर्फ मालबाहक सवारीको निकै ठूलो जाम भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । ‘एसएसबीले नेपालबाट भारत जाने सर्वसाधारण तथा मालबाहक सवारीसाधनलाई पूर्णरूपमा सुरक्षा जाँच गर्न थालेको छ,’ उनले भने, ‘एउटा सवारी जाँचपास हुनै धेरै समय लाग्ने भएका हुँदा जाम झन््झन् बढिरहेको छ ।’

पेट्रोलियम पदार्थका ट्रक पनि भित्रिन सकेन
भैरहवा–सुनौली नाकाबाट दैनिक ५-६ सय ट्रक नेपाल भित्रिन्थ्यो । तर, अहिले मुस्किलले दुई सय ट्रक पनि भित्रिन नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताए । ‘करिब १५ दिनअघिदेखि एसएसबीले सुरक्षा जाँचका नाममा आवत जावतमा अवरोध गरिरहेको छ,’ उनले भने, ‘अझ पछिल्ला चार–पाँच दिनमा त नाकाबन्दी जस्तै गरिएको छ ।’ अहिले पेट्रोलियम पदार्थका ट्रक पनि भित्रिन नसकेको उनले बताए ।

नेपाली व्यवसायी मारमा 
‘भैरहवा नाकामा दुवैतर्फ पाँच-पाँच सय सवारीको लाइन लागेको छ । अहिले एउटा ट्रक जाँचपास हुन चार–पाँच दिन लाग्न थालेको छ । यसले गर्दा नेपाली व्यवसायीले दैनिक १५ लाख भारु डिटेन्सन बेहोर्नुपरेको छ । भारतीय पक्षले किन यस्तो अवरोध गरेको ? भन्ने खुल्न सकेको छैन ।’ कान्तिपुर दैनिकबाट