अन्ततः देउवा बने ४० औं प्रधानमन्त्री

Newslaya Home

अन्ततः देउवा बने ४० औं प्रधानमन्त्री

सोमबार २३, साउन २०७४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालका दशौं प्रधानमन्त्री बनेका देउवा प्रधानमन्त्री बनेको भने यो चौथोपटक हो ।
मंगलबारको संसद बैठकमा उपस्थित कुल ५ सय ५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३ सय ८८ र विपक्षमा १७० मत परेको थियो ।
देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।
को हुन् देउवा ?
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । बुबा श्रीप्रसाद र आमा द्रोपदीदेवीका जेठा छोराका रुपमा जन्मिएका देउवाका ६ जना दाजुभाइ र ५ बहिनी छन् । उनकी धर्मपत्नी आरजु देउवा सांसद छिन् । देउवाका एकजना छोरा छन् । कक्षा ८ सम्म डडेल्धुराको महेन्द्र माविमा पढेका देउवाले डोटीमा कक्षा ९ र १० सम्म पढे । २०१९ सालमा एसएलसी पास गरेका देउवाले एसएलसीपछिको पढाई काठमाडौंमा गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह पूरा गरेका छन् । २०१७ सालदेखि राजनीतिमा लागेका देउवा २०३६ सालको आन्दोलन र जनमत संग्रहमा पनि सक्रियतापूर्वक सहभागि भए । कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष रहेका देउवा २०४६ सालको जनआन्दोलनमा युवा नेताका रुपमा चर्चित थिए । २०४६ मा चुलिएको देउवाको चर्चा २०४८ सालको आम चुनावमा पनि देखियो । २०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी भए । त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी २०४८ सालमा गृहमन्त्री भए । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव तथा २०६४ र २०७० सालको संविधानसभा चुनावमा डडेल्धुराबाट जितेका थिए । २०५९ सालमा कांग्रेस पार्टी विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गरी देउवा त्यसको सभापति भए । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहेपनि उनीसुशील कोइरालासँग पराजित भए । उनी २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर कांग्रेसको सभापति बनेका थिए ।
चौथोपटकसम्म प्रधानमन्त्रीको यात्रा
२०५१ सालको मध्यावधी चुनावमा एमालेले सवैभन्दा ठूलो पार्टीका रुपमा सरकार चलाइएरहेको थियो । प्रमुख प्रतिपक्षमा कांग्रेस थियो । प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेता बन्न रामचन्द्र पौडेल, खुमबहादुर खड्का लगायत आधा दर्जन नेताले उम्मेद्वारी दिएपनि पछि सबैले उम्मेद्वारी फिर्ता लिएपछि देउवा निर्विरोध संसदीय दलको नेता बने । संसदीय दलको नेताको पदले उनलाई पहिलोपटक प्रधानमन्त्री बन्ने ढोका खोल्यो । देउवाकै अग्रसरतामा मनमोहन अधिकारी विरुद्धको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर २०५२ साल भदौ २६ गते देउवाले राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गरे ।
२०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बने । उनको कार्यकाल त्यसपटक ०५९ साल असोज १८ सम्म रह्यो । देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्खास्त गरेका थिए । नेपालको इतिहासमा राजाबाट विश्वेश्वरप्रसाद कोइराला र देउवालाई मात्र राजाले वर्खास्त गरेका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाएपछि शेरबहादुर देउवाको पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धमा खटपट शुरु भयो । पार्टीभित्रको अन्तरसंघर्ष चर्कियो र शेरबहादुर देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति भए । देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको र राजाले सत्ता हातमा लिएका बेला देउवा तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बने ।
केही दलहरुले विरोध गरिरहेको अवस्थामा प्रतिगमन आधा सच्चियो भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेर शेरबहादुर देउवाको सरकार बनेको थियो । यसको चौतर्फी आलोचना पनि भयो । तर तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई तोकिएको समयमा चुनाव गराउन नसकेकाले असक्षमको विल्ला भिराउँदै ०६१ साल माघ १९ गते कु मार्फत बर्खास्त गरे । त्यसपछि देउवालाई केही समय नजरबन्दमा पनि राखिएको थियो ।
देउवाको चौथोपटक प्रधानमन्त्री बन्ने गर्भाधान गएको साउनमै भएको थियो । तर सम्झौता हुने तर पालना नहुने नेपाली राजनीतिको विशेषताका कारण संशयहरु बग्रेल्ती थिए । एमालेसँगको सत्ता गठबन्धन त्यागेर माओवादी केन्द्रले आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने र ९ महिनापछि प्रधानमन्त्रीका लागि देउवालाई कुर्सी खाली गरिदिने सहमति भएको थियो । सम्झौता अनुसार प्रचण्डले राजीनामा दिए र आज नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलको समर्थनमा देउवा प्रधानमन्त्री बन्न सफल भए ।
देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलंका, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत दशेको भ्रमण गरेका छन् ।
शेरबहादुर देउवाका विगतका तीन कार्यकाल नकारात्मक कामहरुका लागि पनि चिनिएका छन् । सांसदलाई आर्थिक प्रलोभनमा पारेर संसद बैठकमा अनुपस्थित गराउन भूमिका खेलेको, सांसदलाई गाडी लगायत अत्याधिक विलासी सुविधा दिएको, तत्कालिन विद्रोही नेकपा माओवादीका नेताहरुको टाउकोको मूल्य तोक्ने जस्ता कामलाई देउवाको कार्यकालका धब्बाका रुपमा लिइन्छ ।