२७ वर्षपछि एकै दिन नागपञ्चमी र जनैपूर्णिमा मनाइँदै

Newslaya Home

२७ वर्षपछि एकै दिन नागपञ्चमी र जनैपूर्णिमा मनाइँदै

सोमबार २३, साउन २०७४

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकम ऋषितर्पणी, रक्षाबन्धन तथा जनैपूर्णिमा यस बर्ष आज श्रावण शुक्ल पञ्चमीकै दिन मनाइँदैछ । श्रावण साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने ‘सत्कर्म रत्नावली’, ‘निर्णय सिन्धु’, ‘कृत्यबाटिका’लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आज विशेष श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गर्ने गर्छन् ।
हिन्दु परम्परा अनुसार नागलाई मन पर्ने दूध, दूबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने, आगलागी र दैवी विपत्ति नपर्ने विश्वास छ । आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ ।

नाग पञ्चमी र जनै पुर्णिमा यसअघि विसं १९६३ र ०८२ तथा २०२८ र ०४७ मा पनि उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताए । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले  ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको प्रा डा गौतमले बताउनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण-पुरोहितले यजमानको नाडीमा बाँधिदिने गर्छन् ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्छन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

वैदिक गुरु परम्परानुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । आज बिहानै यजमान आफ्ना गुरुपुरोहितकहाँ गई यज्ञोपवीत मन्त्रने गर्छन् । आजकै दिन मन्त्रिको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनाका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर पनि खाने गरिन्छ । यसरी विभिन्न थरीका गेडागुडि मिसाएर क्वाँटी खाँदा शरीरका रोग हट्ने, पेट सफा हुने र खेतीपातीको काम गर्दा लागेको चिसोलार्य न्यानो र तातो बनाइराख्छ भन्ने मान्यता चलिआएको पाइन्छ ।