केपी ओलीले भने, ‘मतपत्र च्यातिएको जिम्मा सत्तापक्षको’

Newslaya Home

केपी ओलीले भने, ‘मतपत्र च्यातिएको जिम्मा सत्तापक्षको’

सोमबार २३, साउन २०७४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा सत्तपक्षले बल प्रयोग गरेर प्रायोजित ढंगले काम गरेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै उनले मतपत्र च्यात्ने काममा सत्तापक्ष सक्रिय रहेको आरोप लगाएका हुन् । उनले मतपत्र च्यात्नेहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर पनि मतगणना सुचारु नभएको र प्रायोजित ढंगले अघि बढाउने काम भएको आरोप लगाए ।
‘केही मतपत्र च्यातिनेवित्तिकै मतगणना केन्द्र कब्जामा गयो भन्ने प्रायोजित कुरा गरियो । त्यो लोकतन्त्रका लागि अत्यन्त डरलाग्दो कुरा हो । सत्तापक्ष हार्न तयारै छैन । को उमेदवार भएको ठाउँमा हारजित हुन नपाइने हो । कसलाई हराउन नपाइने हो प्रतिपक्षलाई पनि बताइदिनुहोला । हामी पनि त्यहीअनुसार माइन्डमेकअप गथ्र्यौं । कसलाई हराउन हुँदैन, कसले हार्न हुँदैन हामीलाई पनि बताइदिनुहोला ।’ ओलीले भने ।
उनले त्यहाँ कब्जा नहुँदा पनि जबरजस्ती कब्जा भयो भन्ने पारिएको बताए । उनले जिल्ला निर्वाचन अधिकृतले नै षड्यन्त्र गरेको आरोप लगाए ।
‘च्यातिएका मतपत्र एमालेका भए पनि हामीले मान्छौं भनेर भन्यौं । कति मतपत्र बदर हुन्छन् तर गणना हुन्छ,’ उनले भने, ‘आफु सत्तामा र सरकारमा सहभागी हुने मुख्य बाटो हो मतदान । जनताका फैसला के रहेछ भनेर प्रकट गर्ने कुरा हो । त्यस्तो मतदानलाई र त्यसको रक्षा गर्ने काम जसको हो उसैतिरबाट व्यवधान भएको छ । प्रतिनिधिले गरेको हो मैले गरेको छैन भन्न पाइन्छ ? त्यसप्रति उत्तरदायि हुन पर्छ कि पर्दैन ?”