म्यादी प्रहरीले जथाभाबी रकम उठाउँदै

Newslaya Home

म्यादी प्रहरीले जथाभाबी रकम उठाउँदै

सोमबार २३, साउन २०७४

वीरगन्ज । म्यादी प्रहरीले जथाभाबी रकम उठाउँन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतङ्कित भएका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सरेपछि ब्यारेकभित्र बस्नुपर्ने म्यादी प्रहरीलाई वीरगन्ज सहरको कुनाकाप्चामा खटाइएपछि जनताले सास्ती भोग्दै आएका हुन् ।
नेपाल भारतको सीमा क्षेत्र इनरुवा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको छ । भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने गर्दा गालीगलोज गर्ने, अभद्र व्यवहार गर्ने, सामान खोस्ने, मागअनुसारको रकम लिने गरेको पीडित उपभोक्ताको गुनासो छ ।
जिल्लामा एक हजार ४९२ म्यादी प्रहरी छन् । पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले यसबारेमा केही थाहा नभएको तर वास्तविकता पत्ता लगाइने बताए ।
देशमा सबभन्दा बढी राजस्व तिर्ने मानिएको वीरगन्ज भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले प्रतिव्यक्ति रु २५ देखि ५० सम्म रकम उठाउने गरेको उपभोक्ताको गुनासो छ । पहिले पहिले भारतबाट सामान ल्याउँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई महिनावारी रकम दिने गरिएको थियो भने आजभोली म्यादी प्रहरीलाई रकम दिनुपर्ने बाध्यता रहेको मीना बजारका एक व्यापारीले नाम उल्लेख नगरिदिने सर्तमा बताएका छन् ।
ट्राफिक प्रहरीको जिम्मामा रहेको सवारी जाँच गर्ने अधिकार पनि म्यादी प्रहरीले प्रयोग गर्न थालेको सवारी चालकले गुनासो गरे । घरायसी प्रयोजनका लागि भनेर दुईवटा साडी ल्याउँदा भन्सारमा रहेका म्यादी प्रहरीले खोसेको र साँझ परेपछि मात्र रकम लिएर उक्त साडी फिर्ता दिएको छपकैयाकी एक गृहिणीले गुनासो गरिन् ।
भारतको रक्सौलबाट घरायसी प्रयोजनका लागि समान ल्याउँदा भन्सारमा रहेका जाँचकी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै अहिले आएर म्यादी प्रहरीलाई समेत अतिरिक्त रकम दिनुपरेको वीरगंज बासीले गुनासो गरे ।