भरतपुर मुद्दा र आन्तरिक राजस्वका महानिर्देशकको मुद्धा दुवै ‘हेर्दाहेर्दै’मा, आइतबार सुनुवाइ

Newslaya Home

भरतपुर मुद्दा र आन्तरिक राजस्वका महानिर्देशकको मुद्धा दुवै ‘हेर्दाहेर्दै’मा, आइतबार सुनुवाइ

सोमबार २३, साउन २०७४

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत विवादमा तानिएको चितवनको भरतपुर महानगरपालिका १९ को मतदान विवादको मुद्धा सर्वोच्चमा आइतबारका लागि सरेको छ ।
निर्वाचन पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ बिहीबार पनि नसकिएपछि आइतबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
भरतपुरमा मतगणना अन्तिममा पुगेका बेला नेकपा माओवादी केन्द्रका कार्यकर्ताले ९० मतपत्र च्यातेपछि आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नम्बर–१९ मा नेकपा एमालेका वडासदस्य उम्मेदवार गुञ्जमान विकले निवेदन दायर गरेका थिए ।
मतगणनामा भरतपुरमा प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो ।
निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश राणाको एकल इजलासले पुनः मतदान गराउने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

यस्तै यता आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पनि ‘हेर्दाहेर्दै’का लागि आइतबारका लागि राखिएको छ ।
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले बिहीबार सुनुवाइ हुँदाहुँदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
कर फर्छ्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।