मधेशी दल एक आपसमा लड्दै

Newslaya Home

मधेशी दल एक आपसमा लड्दै

सोमबार २३, साउन २०७४

वीरगन्ज । मधेसको हक अधिकारका लागि संघर्ष गरिरहेका मधेसी दल यतीखेर एकअर्का विरुद्द प्रदर्शनमा उत्रिन थालेका छन् । आफ्ना मुद्दाका लागि आन्दोलन गरिरहेका सहयात्री मधेसी दल दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिएर अहिले एकअर्काविरुद्द आक्रमणमा उत्रिन थालेका हुन् ।

मधेस आन्दोलनलाई धोका दिएर चुनावमा भाग लिएको भन्दै फोरम नेपालविरुद्ध राष्ट्रिय जनता पार्टी नेपालल प्रदर्शन गरिरहेको छ । फोरम नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिएपछि राजपाले पर्सा र बारामा एक साता यता प्रदर्शन गर्दै आएको छ ।
पर्साको बहुदरामाई गाउँपालिका ६ भौराटारमा सोमबार राजपा नेता–कार्यकर्ताले फोरम नेपालको विरोधमा प्रदर्शन गरेको छ । राजपा नेता–कार्यकर्ताले भौराटारमा मंगलबार फोरम नेपालले गर्ने बृहत् आमसभा बिथोल्न सोमबार प्रदर्शन गरेका हुन् ।
भौराटारमा मंगलबार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम थियो । उनीहरूले र्काक्रमको तयारीका लागि गाडिएका टेन्टका बाँस उखेलेर फ्याँक्नुका साथै टायर बालेर फोरमविरुद्ध नाराबाजी पनि गरेका थिए ।
राजपाका महासचिव शिव पटेलका अनुसार मंगलबार फोरम नेपालले गर्ने आमसभामा सहभागी नहुन स्थानीयसँग अपिल पनि गरिएको छ । सोमबारको प्रदर्शनमा राजपाका महासचिव पटेलका साथै नेता देवानन्द यादव, विपिन यादवलगायत सहभागी थिए ।