संसदमा उठ्यो भ्रष्टाचारको विषय

Newslaya Home

संसदमा उठ्यो भ्रष्टाचारको विषय

सोमबार २३, साउन २०७४

काठमाडौं । सांसहरुले मुलुक चरम भ्रष्टाचारमा भासिंदै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा सांसदहरुले सरकारी कार्यालयले एउटा आर्थिक बर्षमा भएको खर्चबापत काटिएको चेक अर्को आर्थिक वर्ष सुरु भइसक्दा पनि नसाटिनु, भन्सार कार्यालयबाट बिना भन्सार शुल्क सामान आयात गर्न सम्बन्धीत कर्मचारीकै मिलामतो हुनु र विना प्रतिपस्र्धा ठूलाठूला र दीर्घकालीन महत्व राख्ने आयोजनाहरुको निर्माण जिम्मा दिनु जस्ता
क्रियाकलापले मुलुकमा नितिगत भ्रष्टाचारको जालो फैलँदै गएको स्पष्ट भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा नेकपा मालेका सांसद शिवचन्द्र चौधरीले बिना प्रतिष्पर्धा नेपालकै ठुलो हाइड्रो बुढीगण्डकी आयोजना निर्माणका लागि चिनिया कम्पनी गेजुवाई इपिसीएफ मोडालिटीमा निर्माणको जिम्मेवारी दिइएको उल्लेख गर्दै सरकारलाई नियममा चल्न नपर्ने भनी प्रश्न उठाए । उनले विपक्षी दल नेकपा एमालेले पनि यसबारेमा कुनै आवाज नउठाएको भन्दै आक्रोश पोखे । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले चालु र पुँजीगत खर्चका लागि काटिएको ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक मा ७ खर्ब २१ अर्ब रुपैया मात्रै साटिएको भन्ने सम्बन्धमा सत्य तथ्य पत्ता लगाई अर्थमन्त्रीले सदनलाई जानकारी गराउन निर्देशन दिन
सभामुखकोे ध्यानाकर्षण गराइन् । संघीय समाजवादी फोरम नेपालका
सांसद अभिशेकप्रसाद शाहले कृष्णनगर भन्सार कार्यालय कपिल वस्तुमा दैनिक भारतबाट ल्याइएको ५ देखि १० ट्रक सुर्ती विना राजश्व नेपाल भित्रने गरेको र सो काममा राजस्व असुलीमा खटिएका कर्मचारीकै मिलेमतो देखिएको बताए । बैठकमा सांसदहरुले राजधानीको सडक अवस्था सुधार्नुको साथै नेपालटारस्थित ढलमा बगेर ज्यान गुमाएकी बालिका विनिता फुँयालका परिवारलाई सम्बन्धीत ठेकेदार र कम्पनीबाट क्षतिपुर्ति भराउनुपर्ने, अन्य मुलुकका विभिन्न स्थानका बाढीपीडीतलाई तत्काल राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण
गराएका थिए ।