जथाभाबी सडकमा हिँडे २ सय जरिवाना

Newslaya Home

जथाभाबी सडकमा हिँडे २ सय जरिवाना

सोमबार २३, साउन २०७४

काठमाडौं । जथाभावी रुपमा बाटो काट्ने प्रदलयात्रुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले दुइ सयरुपया जरिवाना गर्ने भएको छ । बढ्दो सडक दुर्घटना र जोखिममा पैदलयात्री नै हुने गरेपछि जथाभावी बाटो काट्ने पैदलयात्रीलाई ट्राफिकले कारबाही गर्न लागेको हो ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार ’पैदलयात्रु सुरक्षा अभियान’ जेठ १६ गतेदेखि उपत्यकाभित्र सडकपेटीबाट नहिँड्ने पैदलयात्रीलाई दुई सय जरिवाना लिइने भएको छ । सडकपेटी हुँदाहुँदै सडकबाटै हिँड्ने पैदलयात्रीलाई चेतनामूलक कार्यक्रम गरेर सुझाउँदा पनि यात्रुले अटेर गर्दा ट्राफिक प्रहरी कारबाहीमा उत्रिन लागेको जनाइएको छ ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौं उपत्यकामा सडक दुर्घटनामा ज्यान गुमाउने मध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको बताए । ।
उनका अनुसार जथाभावी बाटोमा हिडेकै कारण बर्षेनी ७० देखि ८० जनाले ज्यान गुमाउने गरेका छन् । महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १ सय ३६ र १ सय ३७ लाई आधार मान्दै कारबाही गर्न लागेको जनाएको छ ।
महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि आजसम्म सात हजार ४ सय ६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत वर्ष १ सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएकोमा ६९ जना पैदलयात्री रहेका छन् ।