निर्वाचनको लागि आयोग अन्तिम तयारीमा

Newslaya Home

निर्वाचनको लागि आयोग अन्तिम तयारीमा

सोमबार २३, साउन २०७४

काठमाडौं । दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ । आयोगले आवश्यक मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायतका सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले ४३ जिल्लामा मतपेटिका पुगिसकेको जनाएको छ । हाल जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रअनुसार फारम र मतपत्रहरू मिलाउँदै गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शमाले बताए । शर्माका अनुसार ४ सय ६१ स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा आइसकेका छन् ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जनशक्ति व्यवस्थापन समितिले मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट गरिरहेको शर्माले बताए । उनका अनुसार छनोट भएका जनशक्तिलाई नियुक्तिपत्र र तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि ११ हजार नौ सय ३१ स्वयंसेवी परिचालन गरेको छ । आयोगले पहिलो चरणको निर्वाचनमा बदर मतको सङख्या बढी भएकाले त्यसलाई गम्भीरतापूर्वक लिँदै थप जिम्मेवार भएर मतदाता शिक्षामा खटिन स्वयंसेवीलाई आग्रह गरेको छ ।