निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

Newslaya Home

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

सोमबार २३, साउन २०७४

काठमाडौं । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्न ५ सदस्यीय आयोग गठन गरेको हो । पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वमा गठन गरिएको आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् । स्थानीय तह पुनर्संरचना आयोगको सदस्य बनेर काम गरिसकेका अधिकारी भूगोलविद भने कार्की समाजशास्त्री हुन् । आयोगले २१ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको सरकार प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न संवैधानिक व्यवस्था अनुसार यो आयोग गठन भएको छ । यसले २१ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ । आयोगका सदस्य माधव अधिकारीले भने २१ दिनमा प्रतिवेदन बुझाउन कठिन हुने बताएका छन् । संविधानअनुसार संघीय संसदको १६५ निर्वाचन क्षेत्र हुनेछ भने एक संघीय निर्वाचन क्षेत्रमा दुई प्रादेशिक निर्वाचन क्षेत्र रहनेछ ।