आन्दोलनमा जान ठाकुरले राखेको प्रस्ताव अस्वीकार

Newslaya Home

आन्दोलनमा जान ठाकुरले राखेको प्रस्ताव अस्वीकार

सोमबार २३, साउन २०७४

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आन्दोलनमा जान राखेको प्रस्तावलाई यदव र गच्छदारले अस्वीकार गरेका छन् । ठाकुरले स्थानीय तहको दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्ताव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका हुन् ।
संयोजक ठाकुरले बिहीबार यादव र गच्छदारसँग भएको बैठकमा यस्तो प्रस्ताव गरेका थिए । आन्दोलन सशक्त बनाउन तीनवटा पार्टी मिलेर जानुपर्ने र त्यस पछिमात्र सरकारले बाध्य भएर मधेसको मुद्दा सम्बोधन गर्ने बताउदै बैठकमा ठाकुरले यस्तो प्रस्ताव गरेका हुन् । गच्छदार र यादवले भने आफूहरूले दोस्रो चरणको चुनावको तयारी अघि बढाइसकेको भन्दै बहिष्कार गर्न नसकिने धारणा राखेका थिए । प्राप्त उपलब्धि संस्थागत गर्दै चुनावकै माध्यमबाट थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने भनाइ यादवको थियो ।
प्रस्ताव अस्विकार भए सँगै आन्दोलनको कार्यक्रम घोषणा गर्ने योजना बनाएका राजपाका नेताहरुहरु अघि बढ्न सकेनन् । हुन त पार्टीभित्रै पनि दुइखाले कुरा आइरहँदा राजपाले के गर्ने भन्ने विषयमा अझै अन्यौलमै रहेको छ । शरदसिंह भण्डारी र महेन्द्र यादव चुनावमा जानुपर्ने पक्षमा रहेका छन् भने राजेन्द्र महतो र राजकिशोर यादव भने आन्दोलनका पक्षमा रहेका छन् । बुधवार बसेको बैठकमा राजकिशोर यादवले आन्दोलनको रूपरेखा समेत प्रस्तुत गरेका थिए ।
त्यसअघि बिहीबार बिहान पुरानो तमलोपा पार्टी कार्यालयमा राजपा अध्यक्ष मण्डलका सदस्यहरूको बैठकमा एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नहुने भएकाले सहकार्य गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको थियो । सो निर्णयअनुसार दिउँसो राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले नयाँ ठिमीस्थित निवासमा फोरम नेपालका अध्यक्ष यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग भेट गरेर ठाकुरले आन्दोलनमा जान प्रस्ताव गरेका थिए ।
राजपाका अध्यक्ष मण्डलका सदस्यहरूको बैठक आज बस्ने भएको छ । यस्तै बिहान राजपासहितको संघीय गठबन्धनको बैठक बस्ने कार्यक्रम रहेको बताइएको छ ।