शैक्षिक व्यवस्थापनको काममा ढिलाई नगर्न मन्त्रालयलाई निर्देशन

Newslaya Home

शैक्षिक व्यवस्थापनको काममा ढिलाई नगर्न मन्त्रालयलाई निर्देशन

सोमबार २३, साउन २०७४

काठमाडौं । व्यवस्थापिका संसदअन्तर्गतको विकाश समितिले सबै स्थानीय तहमा समयमै शैक्षिक जनशक्ति व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहिबार बसेको बैठकले सबै स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काममा ढिलाई नगर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । जनशक्ति व्यवस्थापनको विषयलाई लिएर सम्बन्धित मन्त्रालयहरुबीच विवाद भइरहेका बेला विकास समितिले स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काम छिटो सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । स्थानीय तहको शैक्षिक जनशक्ति व्यवस्थापनको काममा ढिलाई नगर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।
विकास समितिले शैक्षिक जनशक्ति व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरु रहेको समन्वयात्मक कार्यदल बनाउन पनि सरकारलाई निर्देश गरेको छ । समितिले स्थानीय तहमा गुणस्तरीय शिक्षा दिने गरी जनशक्ति व्यवस्थापन गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई सचेत गराएको छ । बैठकमा बोल्दै शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले शिक्षा मन्त्रालयले शैक्षिक जनशक्ति व्यवस्थापनको काममा ढिलाई नगरेको दाबी गरे । उनले स्थानीय तहको गुणस्तरीय शिक्षाका लागि मन्त्रालयले २१ वटा कार्यविधि नै तय गरेको पनि स्पष्ट पारे ।
बैठकमा समितिका सदस्यहरुले स्थानीय तहको शैक्षिक जनशक्ति व्यवस्थापनका लागि आवश्यक कार्यदल बनाएर अघि बढन सरकारसँग माग गरेका थिए । समितिका सदस्य टोपबहादुर रायमाझीले कार्यदल नै बनाएर सिनियर÷जुनियर जनशक्तिको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।