इपीएस परीक्षामा १९ नक्कली परीक्षार्थी

Newslaya Home

इपीएस परीक्षामा १९ नक्कली परीक्षार्थी

सोमबार २३, साउन २०७४

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) आठौं कोरियन भाषा परीक्षामा संलग्न १९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
शनिबार पाँचजना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौंको परीक्षा केन्द्रबाट ६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा कति सहभागी भए भन्ने पूर्ण विवरण तयार भइनसकेको इपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले बताए ।
काठमाडौं उपत्यकाका २६ ओटा केन्द्रमा बिहान र दिउँसो गरी दुई चरणमा दुई दिन परीक्षा भएको थियो । भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जनामात्र उत्तीर्ण हुनेछन् । जसमा कृषि क्षेत्रमा ६ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा ९ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् । ५१ हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् ।