स्थानीय तह निर्वाचनको मतगणना जारी

Newslaya Home

स्थानीय तह निर्वाचनको मतगणना जारी

सोमबार २३, साउन २०७४

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनको अहिले मतगणना जारी रहेको छ । केही ठाउँमा मतगणना समेत सम्पन्न भएको छ । जसअनुसार हालसम्म नेकपा एमाले आगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा एमालेलाई पछ्याउँदै छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । अग्रताको हिसाबले चौथो ठूलो दल राप्रपा प्रतिस्पर्धामा देखिएको छैन । अहिलेसम्म मनाङको चामे र नेस्याङ गाउँपालिकामा एमालेले जित हात पारिसकेको छ । मनाङमा यसअघिका चुनावमा उम्मेदवार समेत नपाउने एमालेले यसपटक जित हात पारेको छ । प्रारम्भिक परिणाम अनुसार पहिलो चरणको निर्वाचनको जनमत एमालेको पक्षमा देखिएको छ । मतगणना प्रारम्भिक अवस्थामा रहेकाले मुख्य पार्टीहरु आ–आफ्नो पक्षमा परिणाम आउनेमा आशावादी नै देखिएका छन् । यसअघि निर्विरोध भएको संख्या जोड्दा एमालेले तीन गाउँपालिका प्रमुख जितेको छ । कांग्रेसले एउटा गाउँपालिका प्रमुख निर्विरोध जितेको छ । एमालेले काठमाडौंको शंकरापुर, टोखा, नागार्जुन र किर्तिपुर नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै काभ्रेको बनेपा, नुवाकोटको बिदुर, नवलपरासीको गैंडाकोट, देवचूली पनि एमालेको अग्रता देखिएको छ । ललितपुर महानगरपालिकामा कांग्रेसले शुरुवाती अग्रता लिएको छ । त्यस्तै काठमाडौंको बुढानीलकण्ठ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसको अग्रता रहेको छ । यस्तै मकवानपुरको थाहा नगरपालिका र बाग्लुङको ढोरपाटन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । यस्तै म्याग्दीको बेनी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । माओवादी केन्द्र काठमाडौंको चन्द्रागिरी नगरपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शुरुवाति अग्रताको अवस्थामा छ । गाउँपालिकाहरुको गणनामा पनि एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।