बुधबार सम्ममा सरकार विस्तार हुने

Newslaya Home

बुधबार सम्ममा सरकार विस्तार हुने

सोमबार २३, साउन २०७४

काठमाडौं । सरकार विस्तारमा ढिलाइ नगर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सहमतिमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल र कांग्रेस नेता विमलेन्द्र निधिको सोमबार भएको भेटवर्तामा दुई दिनभित्रै सरकार विस्तार गर्ने, संविधान संशोधन गर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसहितका विषयमा छलफल भएको थियो ।
सोमबार बेलुका सिंहदरबारमा बसेको दुईदलीय कार्यदलको बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको थियो ।
कांग्रेसका नेता विमलेन्द्र निधिले मंगलबार बिहानैबाट कार्यदल बैठक बसेर दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्ने बताए । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउने उनले बताए ।
सरकार विस्तारमा तत्काल राप्रपा र फोरम सहभागी नहुने भएको छ । राप्रपा फुटको सँघारमा पुगेकोले गर्दा उसलाई दिने चार मन्त्रालय प्रधानमन्त्री सँगै रहनेछन् । त्यसैगरी, फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई तीनवटा मन्त्रालय दिने तयारी सत्तारुढ दुई दलको रहेको छ ।
लोकतान्त्रिक फोरम भने सरकारमा सहभागी भइसकेको छ ।