१०० वर्षीय रिम्पोछेको अन्तिम संस्कार मंगलबार गरिने

Newslaya Home

१०० वर्षीय रिम्पोछेको अन्तिम संस्कार मंगलबार गरिने

सोमबार २३, साउन २०७४

गोरखा । काठमाडौंको स्वयम्भू हलचोक टेरगार गुम्बाका औतारी लामा टासी दोर्जे रिम्पोछेको निधन भएको छ । गोरखा सामागाउँ घर भएका भएका १०० बर्षका रिम्पोछेको पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत सोमबार सामागाउँ पुर्याइएको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिए ।
सामागाउँको कार्ची छ्योलिङ गुम्बामा उनको शव राखिएको छ । मंगलबार लामा धर्मसंस्कार अनुसार उनको दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।
अन्तिम संस्कारमा सहभागी हुन काठमाडौंको तेरगार गुम्बा, सेतो गुम्बा, रिपुम गुम्बा, सेराङ गुम्बाबाट रिम्पोछे, खेम्पो, प्रमुख लामा गुरुहरु भेला भइसकेका छन् ।
६५ बर्षसम्म सामागाउँको कार्ची छ्योलिङ गुम्बाको प्रमुख लामाको रुपमा कार्य गरेका रिम्पोछे बिगत ४० बर्षदेखि टेरगार गुम्बामा रहँदै आएका थिए । उनलाई विदा गर्न हिमाल पारिका साबिकका सामागाउँ, ल्हो, प्रोक, बिहीदेखिका स्थानीयबासी पनि सहभागी भएका छन् ।
रिम्पोछेको एक छोरी र दुई नातिहरु छन् । छोरी सोनाम छेटेन लामा हुन् भने नातिद्वय औतारी लामा गुरु योङ्गे मिङ्ग्यूर रिम्पोछे र औतारी लामा गुरु छ्योङे रिम्पोछे तेरगार गुम्बाका प्रमुख लामाहरु हुन् ।