आयल निगमको पुँजी बढाइने

Newslaya Home

आयल निगमको पुँजी बढाइने

आइतबार २२, साउन २०७४

काठमाडौं । नेपाल आयल निगमले चुक्ता पुँजी बढाएर २० देखि २५ अर्ब पुर्‍याउने तयारी गरेको छ । वाषिर्क १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्युन भएपछि वृद्धि गर्न सुरु गर्ने योजना बनााएको हो । पुँजी बढाउन नाफाको प्रयोग गर्ने बताइएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ मात्रै भएको बताए । बोनस र हकप्रद सेयर तथा सर्वसाधारणलाई सेयर बिक्री तथा रणनीतिक साझेदार लगायतका विकल्प राखेर पुँजी बढाउन लागिएको हो । बोनस सेयर जारी गर्ने विकल्प सहज देखिएकाले अर्को वर्षबाट यसको सुरुवात गर्ने योजना बनाइएको साहले बताए ।
निगमले यसअघि जारी पुँजी ३० अर्ब पुर्‍याइसकेको र अब चुक्ता पुँजी वृद्धिका लागि रणनीति बनाउन सुरु गरेको साहले बताए । निगमले सर्वसाधारणलाई पनि सेयर दिने विषयमाथि अध्ययन गरिरेहेको तर जारी गर्ने गरी तीब्र तयारी नगरेको साहले बताए ।
निगममा अर्थ मन्त्रालयसहित आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन विभाग, नेशनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको १ प्रतिशत सेयर छ ।