नेपालमै गैँडा र चितुवालाई जेल हालियो

Newslaya Home

नेपालमै गैँडा र चितुवालाई जेल हालियो

आइतबार २२, साउन २०७४

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवा अहिले जेल परेका छन् । थप जनधनको क्षति हुनबाट रोक्नका लागि उनीहरुलाई सजाय दिइएको हो ।
ठाकुरद्वाराको कृष्ण प्रणामी मन्दिरका एक वृद्ध पुजारीको ज्यान गएपछि निकुञ्जमा विक्रम नामक एउटा गैँडा झण्डै ७ वर्षदेखि जेल सजाय भोगिरहेको छ । गैँडालाई घेरा बनाएर सुरक्षित रुपमा राखिएको छ ।
निकुञ्जको मुख्य कार्यालय ठाकुरद्धारा नजिकै जंगल क्षेत्रमा काठले घेरिएको ठूलो खोरमा बिक्रमलाई राखिएको छ । बिक्रमलाई चौबिसै घण्टा खोरभित्र राखिएको हुन्छ । बिक्रमलाई खोरभित्रै खानेकुराको व्यवस्था गर्ने गरिएको छ भने पानीमा आहाल बस्न मिल्ने गरी पालीको खाल्डो पनि बनाइएको छ ।
सानो छँदा आहाराको खोजीमा गाउँबस्तीमा छिरेर गहुँबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय बासिन्दाको कुटाइले बिक्रम नाम गरेको गैँडाको आँखा फुट्यो, स्थानीयले आगोले झोस्ने र कुटपिट गर्नाले बिक्रमले दुवै आँखा गुमाएको थियो ।
यस्तै स्थानीय बासिन्दाका झण्डै ६० वटा बाख्रा खाएर आतंक मच्चाएको चितुवाले पनि गएको वर्षदेखि जेल सजाय भोगिरहेको छ । तीन दिन लगाएर विशेष प्राविधिक टोलीले खोरमै बाख्रा खाइरहेको अवस्थामा बेहोस बनाई चितुवालाई समातेर बर्दिया निकुञ्ज परिसरमै सुरक्षित रुपमा थुनामा राखिएको हो । गाउँमा पसेको चितुवाले मानवीय क्षति हुने खतरा भएकोल थुनामा राखिएको हो । थुनामै रहेपनि चितुवालाई पालन पोषण सँगै स्वास्थ्य उपचार पनि भइरहेको निकुञ्जले जनाएको छ ।