शुल्क फिर्ता नलिन बहाना बनाउँदै निजी विद्यालय

Newslaya Home

शुल्क फिर्ता नलिन बहाना बनाउँदै निजी विद्यालय

आइतबार २२, साउन २०७४

काठमाडौ । सरकारी नीति र मापदण्ड उलङ्घन गर्दै अचाक्ली शुल्क बढाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले सरकारी निर्देशनको अवज्ञा गर्ने देखिएको छ । उनीहरुले बरु पढाइ बन्द गरेर विद्यालयको तालाचाबी बुझाइदिने चेतावनी दिएका छन् ।
शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच निजी विद्यालयले लिइरहेको शुल्क वृद्धि फिर्ता लिन भएको सहमति कार्यान्वयन नगर्ने सम्भावना देखिएको हो । निजी विद्यालयमा मापदण्ड विपरीत बढाइएको शुल्क १५ दिनभित्र फिर्ता दिलाउनेसहित चारबुँदे सहमतिमा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच शुक्रबार सहमतिसँगै विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो ।
यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष विजय सम्बाफाम्फेले शुल्क बढि लिइएको बारे आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिए । उनले शुल्क बढाउनु हुँदैन भन्ने कुरा व्यवहारिक नभएको बताए । मुद्रास्फिती दर बढेको, महंगी बढेको र त्यसैअनुसार विद्यालयका शिक्षक तथा कर्मचारीको पनि सेवा सुविधा बढेकाले शुल्क बढाउनु बाध्यता भएको बताएका छन् । शुल्क नबढाउने भए आर्थिक स्रोत जुटाइदिन उनले सरकारलाई चुनौति दिए ।
यस्तै (एनप्याब्सन) का वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले विद्यालयलाई पनि सहभागि गराएर छलफल गर्नुपर्ने बताए ।
वार्ता पछि भएको सहमतीमा शिक्षा नियमावली २०४९ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ कडाइका साथ कारबाही गरिने, त्यसलाई अटेर गर्ने विद्यालयलाई अनुमति खारेज गर्नेसम्मको कारबाही गर्ने सहमति भएको थियो ।
राजधानीका एक सयभन्दा बढी निजी विद्यालयले बढी शुल्क लिएको जनाउँदै ती विद्यालयको लेखा शाखामा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका थिए ।