सिलवालले किर्ते गरेको प्रतिवेदन

Newslaya Home

सिलवालले किर्ते गरेको प्रतिवेदन

आइतबार २२, साउन २०७४

काठमाडौ । डीआइजी नवराज सिलवालले सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको जाँच्ले पुष्टि गरेको छ । नेपाल प्रहरीले गरेको फरेन्सिक जाँचबाट सर्वोच्च अदालतमा गत चैत २९ गते रिट निवेदनका साथ बुझाइएको कार्यसम्पादन मूल्याङकन फाइल कीर्ते गरिएको पुष्टि भएको छ ।
प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले फाइलको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पठाएको थियो ।
प्रतिवेदनमासिलवालले आफ्नो भनी पेश गरेको कासमुमा महानिरीक्षक प्रकाश अर्यालको कासमुको अङ्कसहितको व्यहोरा कपिपेस्ट गरेको देखिएको छ । सिलवालको पहिलो चार पानामा ‘कालिमाटी’ फन्ट, छैटौँ पेजमा ‘उत्साह’ र ‘कालिमाटी’ फन्टको मिश्रित प्रयोग गरिएको छ । तर हालका महानिरीक्षक प्रकाश अर्यालको पूरै फन्ट एउटै ‘कालिमाटी’मा छ ।
प्रतिवेदन अनुसार सिलवालले आर्थिक वर्ष २०७२/७३ को औसतमा २ नम्बर थपेर ३८ को ठाउँमा ४० नम्बर बनाएर अर्यालभन्दा आफ्नो नम्बर बढी भएको भन्दै सर्वोच्चमा रिट निवेदनसँगै कासमु फाइलको प्रतिलिपि पेश गरेका थिए । तर डिआइजी सिलवालको कासमुको छैटौँ पाना र महानिरीक्षक अर्यालको तेस्रो पानाको प्रकृति र फन्टहरु एउटै भएको फरेन्सिक जाँचबाट पुष्टि भएको छ।
हस्ताक्षर, तालिका, स्पेस, लेखन शैलीको अध्ययन गर्दा फरक भेटिएको हो । प्रतिवेदनमा सिलवालको कासमु फाइलमा प्रकाश अर्यालको आर्थिक वर्ष ०७२/०७३ को कासमू फारामको ५ पेजको खण्ड १ र २ अनि ६ पेजको ३ र ४ लाई काटेर ‘पेस्ट’ गरेको उल्लेख छ।
डिआइजी सिलवालको विवादित कासमुको छैठौं पानालाई अध्ययन गर्दा एउटै पानामा पनि एकरुपता र अनुकुल तालमेल नभएको र महानिरिक्षक अर्यालको खण्ड ३ र ४ को चौथो पाना भने एकरुपता र अनुकूल तालमेल भएको छ । यो प्रतिवेदनपछि डीआइजी सिलवाल किर्ते अभियोगमा फँस्ने निश्चित देखिएको छ ।