निर्वाचनसम्वन्धी कुनै जिज्ञासा भएमा फ्रि फोन गर्न सकिने

Newslaya Home

निर्वाचनसम्वन्धी कुनै जिज्ञासा भएमा फ्रि फोन गर्न सकिने

आइतबार २२, साउन २०७४

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
साथै निर्वाचनको सबै गतिविधी हेर्न सक्ने पनि बनाएको छ । निर्वाचन आयोगले मतदाताको गुनासो सुन्न (टोल फ्री) नम्बर समेत सार्वजनिक गरेको छ । निर्वाचनसँग सम्वन्धित कुनै जिज्ञासा वा गुनासो भए १६६०–०१–४४२२२ मा फोन गर्न आयोगले आग्रह गरेको छ । एकै पटक ६ जनाले फोन गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । शुक्रवार दिउँसो १ बजे बिशेष कार्यक्रमको आयोजना गरी सुरुवात गरीएको आयोगले जनाएको छ । यो नम्बरमा फोन गरेर मतदाताले आफ्ना कुनै गुनासा वा जिज्ञासाहरु राख्न सक्नेछन् । यस्तै मतदाताले आफ्नो मतदान केन्द्र थाहा नपाएकमा पनि कल सेन्टरमा फोन गर्न सक्ने छन् । यसैगरी कतै निर्वाचन आचारसंहिता उल्लंघन भएमा वा निर्वाचनसँग सम्वन्धित कुनै उजूरी या गुनासो भएमा कल सेन्टरमा टिपाउन सकिने निर्वाचन आयोगले जनाएको छ ।
नागरिकको जिज्ञासा वा गुनासोलाई कल सेन्टरका अधिकारीहरुले तत्काल सम्बोधन गर्ने आयोगले जनाएको छ । ‘निर्वाचन आयोग र मतदातावीच सिधा सम्पर्कका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचन विवरण हेर्न ‘इलेक्सन नेपाल’ एप्स
आयोगले निर्वाचनको सबै गतिविधी हेर्न सक्ने ‘इलेक्सन नेपाल‘ एप्स पनि बनाइएको छ । यो एप्स डाउनलोड गरेर एण्ड्रोइड मोबाइल प्रयोगकर्ताले निर्वाचन गतिविधी हेर्न सक्ने आयोगका प्रवक्ता शर्माले बताए ।
एप्समा अहिले १२ वटा फिचर समेटिएको छ । मतदाताले आफ्नो मतदान केन्द्र कहाँ हो खोज्न सक्नेछन् । साथै कसरी मतदान गर्ने भनेर हेर्न र पढ्न सक्ने व्यवस्था रहेको छ । आयोगले इलेक्सन एप्समा सबै मतदाता शिक्षा सामाग्रीहरु हेर्न सकिने बनाएको जनाएको छ । यस्तै उम्मेदवारी दर्ता भएपछि कुन स्थानीय तहमा कति उम्मेदवार छन् । कति मतदाता छन् । महिला मतदाता कति, पुरुष कति सबै विवरण हेर्न सकिने आयोगले जनाएको छ । एप्सबाट मतदाताले निर्वाचन परिणाम समेत थाहा पाउन सकिने बताईएको छ ।