आज लोकतन्त्र दिवस मनाइँदै

Newslaya Home

आज लोकतन्त्र दिवस मनाइँदै

आइतबार २२, साउन २०७४

आज लोकतन्त्र दिवस । वि. सं. २०६२–०६३ को दोश्रो जनआन्दोलन सफल भइ २०६३ वैशाख–११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते राति आन्दोलनरत सात राजनीतिक दलको मार्गचित्रअनुसार तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।
त्यसपछि पुनःस्र्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । आन्दोलनका कमाण्डर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गराएको थियो । संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनाएको थियो ।
जनताको भीषण आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । सशस्त्र युद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने आन्दोलनले यसै दिन राजतन्त्रलाई घुँडा टेकाएको हो ।
लोकतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिंदै आएपनि गत सालदेखि भने सो विदा कटौती गरिएको छ । गतसालदेखि लोकतन्त्र दिवसको विदा कटौती गरी संविधान जारी भएको मिति असोज–३ गते विदा दिने निर्णय गरिएको हो ।