सरकार र मोर्चाको सहमति भएसँगै मोर्चाका कार्यकर्ताहरु हर्षित

Newslaya Home

सरकार र मोर्चाको सहमति भएसँगै मोर्चाका कार्यकर्ताहरु हर्षित

आइतबार २२, साउन २०७४

काठमाडौं । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच सहमति भएको छ । लामो समयदेखि आ–आफ्नै अडानमा रहेका दुवै पक्षले ऐतिहासिक सहमति गरेपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन् ।
सरकार र मोर्चा सहमतिमा गएपछि मधेसमा पनि चुनाव हुने भन्दै सबै नेता कार्यकर्ता चुनावको तयारीमा जुटेका छन् ।
महोत्तरीको सदरमुकाम जलेश्वरसहित जिल्लाको बर्दिबास, गौशाला, औरही, मनरा लगायत तीनवटै नगरपालिका र १२ वटै गाउँपालिकामा चुनाव हुने निश्चित भएको भन्दै मधेसी नेता ,कार्यकर्ता र स्थानीय चर्चा परिचर्चामा लागेका छन् ।
मधेससहित चार प्रदेशमा दोस्रो चरणमा जेठ ३१ गते चुनाव हुने, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गरिने, मधेस आन्दोलनका मुद्दाहरु फिर्ता लिने, संविधान संशोधन हुने, सीमाङ्कन विवाद टुङ्गिनेलगायतका सहमतिले मधेसमा चुनावी माहोल पैदा गरेको छ ।
मधेसका सबै नेता कार्यकर्ता र सर्वसाधारण खुसी हुँदै चुनावमा जान्नैपर्ने, भोट हाल्नैपर्ने र आफूले रोजेको व्यक्तिलाई जिताउनुपर्छ भन्ने कुरा गर्न थालेका छन् ।