कार्यालय नहुँदा वडाध्यक्षले काम गर्न पाएनन्

Newslaya Home

कार्यालय नहुँदा वडाध्यक्षले काम गर्न पाएनन्

बिहीबार १९, साउन २०७४

इनरुवा । जनतालाई सेवा दिनका लागि स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरु समस्यामा परेका छन् । वडा कार्यालयको स्थापनामा ढिलाई भएपछि उनीहरु बढी समस्यामा परेका हुन् ।

इनरुवाका नवनिर्वाचित वडाध्यक्षहरुले सपथ खाएको केहीदिन नबित्दै जनताका कामहरुको चाप बढ्दै गएको छ । जनताको कामको चाप बढेसँगै वडाध्यक्षहरुले काम गर्ने कार्यालय पाएका छैनन् । कतिपय वडाध्यक्षहरुले वैकल्पिक रुपमा काम गर्ने ठाउँ खोज्न थालेका छन् ।

स्थानीय तहको नयाँ संरचना अनुसार वडा समितिको कार्यालय स्थापना हुने व्यवस्था छ । तत्कालै वडा समितिको कार्यालय ब्यवस्थापन नहुँदा इनरुवाका ५ वटा वार्डका वडाअध्यक्षहरुले नगरपालिकामा रहेका सभाहलको बाहिरी बरण्डामा टेवल कुर्सी राखेर कार्य सम्पादन गर्न थालेका छन । इनरुवा ४ का वडाध्यक्ष श्यामदेव मेहताका अनुसार बिभिन्न खाले सिफारिस, पानीको समस्या, ढल निकासको समस्या, बाटो हिलो भएको समस्या लिएर स्थानीयहरु आउन थालेकाछन् ।
कार्य्विधी अनुसार वडामा रहने जनशक्तिका बारेमा नयाँ संरचना तयार गर्नु पर्ने वडाहरुलाई समस्या हुने देखिएको छ । इनरुवामा समायोजन भएका गाविसका कार्यालयहरुमा भने पुरानै जनशक्ति रहेकाले इनरुवा १० जल्पापुर, इनरुवा ९ बविया, इनरुवा ७ चादवेला र इनरुवा ८ डुम्राहामा भने धेरै समस्या नभएको पाइएको छ ।