करिब तीन करोडको गोलभेंडा उत्पादन

Newslaya Home

करिब तीन करोडको गोलभेंडा उत्पादन

बिहीबार १९, साउन २०७४

फिदिम । फिदिमको हिलिहाङ गाउँपालिकाको एउटै गाउँबाट झन्डै तीन करोड मूल्य बराबरको गोलभेंडा उत्पादन हुने गर्छ । आर्थिक वर्ष २०७३/०७४ मा हिलिहाङ–१ अमरपुरमा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेंडा उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालय पाँचथरका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले पकेट क्षेत्रका (अमरपुर) पाँच सय ८० जना किसानले व्यावसायिक रूपमा गोलभेंडा खेती गरेको बताए । यहाँ उत्पादन गरिएको गोलभेंडा झापाको विर्तामोडसम्म निर्यात हुने गरेको छ ।
यहाँका एक जना किसानले कम्तीमा १८ हजार पाँच सय बोट गोलभेंडाको खेती गरेका थिए । प्रत्येक गोलभेंडाको बोटबाट दुई किलो गोलभेंडा उत्पादन भएको अनुमान गरिएको छ । तर, किसानहरुले एउटै बोटमा ६ किलोसम्म गोलभेंडा फलेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रमअन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेंडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो ।
त्यसेगरी, कार्यलयले साना सिँचाइका लागि पाइप, प्लास्टिक क्रेट, स्पेयर, मल, बिउ, विषादी, शुक्ष्म खाद्यतत्वसमेत उपलब्ध गराएको थियो ।