प्रमुख अतिथीलाई मायाको चिनो होइन, डस्टबिन

Newslaya Home

प्रमुख अतिथीलाई मायाको चिनो होइन, डस्टबिन

बिहीबार १९, साउन २०७४

इटहरी । इटहरीस्थित सानिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं वार्षिक उत्सवमा अनौठो कार्य गरेको छ ।
कार्यक्रममा उपस्थित हुने प्रमुख अतिथिलगायत अतिथिहरुलाई मायाको चिनो दिने गरिन्छ । तर उसले भने कार्यक्रममा सहभागि मेयर र उपमेयरलाई डस्टबिन उपहार दिएको छ । इटहरीका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई डस्टबिन उपहार दिइएको हो ।
नगरको सरसफाइ र फोहोर व्यवस्थापनमा ध्यान दिन भन्दै डस्बिन उपहार प्रदान गरेको संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले जानकारी दिए । ‘नगरको फोहोर व्यवस्थापन सही ढंगबाट नभएको बेला ध्यान दिनको लागि यस्तो कार्य गरिएको हो,’ उनले भने ।
सोही कार्यक्रमबाट इटहरी वडा नम्बर ४ र ६ का नवनिर्वाचित वडाध्यक्ष क्रमशः चन्द्रप्रसाद भट्टराई र दीपक गौतमलाई पनि डस्बिन प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर चौधरीले नगरवासीको चाहनाअनुरूप इटहरीलाई हरित नगरी बनाई मुलुककै नमुना सहरको रूपमा विकास गर्न साथै इटहरीलाई प्रदेश–१ को राजधानी बनाउन पहल थाल्ने बताए ।
सहकारीको वार्षिक उत्सव अवसरमा रक्तदान तथा निःशुल्क दन्त शिविरसमेत आयोजना गरिएको थियो । जसमा ४९ जनाले रक्तदान गरेका थिए भने १३ जनाले निःशुल्क दन्त परीक्षण गराएका थिए ।