घोषणापत्र बनाउँदै इटहरीका दलहरु

Newslaya Home

घोषणापत्र बनाउँदै इटहरीका दलहरु

बिहीबार १९, साउन २०७४

इटहरी । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा इटहरीका राजनीतिक दलहरुले निर्वाचनको तयारी तिव्र पारेका छन् । खासगरी दलहरुले टोल तथा वडा कमिटी गठन, भेला, घरदैलो लगायतका गतिविधिलाई तिव्रता दिएका छन् । यस्तै दलहरु आ–आफ्नो दलको तर्फबाट स्थानीय घोषणापत्र बनाउने तयारीमा समेत जुटेका छन् ।
हुन त प्रमुख दलहरुले केन्द्रीय स्तरबाट नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर पनि स्थानीय तहको निर्वाचनमा स्थानीय स–साना कुराहरुलाई समेट्नुपर्ने भएकाले दलहरुले स्थानीय तहको बेग्लै घोषणापत्र तयार गरिरहेका छन् । सोही अनुसार इटहरीका दलहरु पनि इटहरीको विकास र जनसरोकारका कुराहरुलाई समेटेर घोषणापत्रको तयारीमा जुटेका छन् ।

कस्तो घोषणापत्र बनाउँदैछन् इटहरीका दलहरुले ?
नेकपा एमालेले डाक्टर दिवाकर रेग्मीको संयोजकत्वमा घोषणापत्र समिति बनाएको छ । एमाले इटहरीका सचिवालय सदस्य समेत रहेका रेग्मी नेतृत्वको समुहले चाँडै आफ्नो अन्तिम ड्राप्ट तयार गर्ने र सार्वजनिक गर्ने एमाले इटहरीका अध्यक्ष रेवती घिमिरे बताँउछन् । अबको केही दिनमा निक्कै उत्कृष्ट र जनसरोकारलाई सम्बोधन गर्ने गरी एमाले इटहरीको चुनावी घोषणापत्र आउने उनको भनाइ छ । उनले घोषणापत्रमा के कस्ता विषय समेटिनेछन् भन्ने कुरा भने खुलाउन चाहेनन् ।
यता नेपाली कांग्रेसले पनि सुनसरी सचिव केदार भण्डारीको संयोजकत्वमा जिल्लाका सबै स्थानीय तहको घोषणपत्र तयार गर्ने गरी समिति गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर दुईका सचिव तथा घोषणपत्र तयार गर्ने समितिका सदस्य रमेश पोखरेल सोही समितिले इटहरीको पनि घोषणापत्र तयार पार्ने बताउँछन् । इटहरीको पर्यटन, महिला, दलित र अपाङ्गतका बिषयलाई समेटेर घोषणापत्र बनाउने उनको भनाइ छ । यस्तै सुनसरीका रुग्ण उद्योग संचालन गर्ने, लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्ने र पाँच बर्ष भित्रमा इटहरीमा ५० हजार बढीलाइ रोजगारीको अवसर सृजन गर्ने जस्ता विकास, जनचासो, पर्यटन र लोककल्याणकारी विषय घोषणपत्रमा समेटिने उनी बताउँछन् ।
अर्को प्रमुख दल नेकपा माओवादी केन्द्र पनि इटहरीको घोषणपत्र बनाउन जुटिरहेको छ । माओवादी केन्द्रले केन्द्रिय सल्लाहकार डिल्ली भट्टराईको संयोजकत्वमा चुनावी घोषणापत्र समिति बनाएको छ । नेकपा माओवादी केन्द्रबाट इटहरीको उपमेयरका प्रस्तावित उम्मेदवार सागर सुवेदी आफ्नो पार्टीको केन्द्रिय चुनावी घोषणापत्रले नसमेटेका इटहरीका मुद्दाहरुलाई स्थानीय घोषणापत्रले समेट्ने बताँउछन् । समग्र नगरको विकास र समृद्धीका लागि विज्ञहरुसँग सुझाव लिएर उत्कृष्ट घोषणापत्र तयार पार्ने तयारी भइरहेको उनको भनाइ छ ।