५ वटा औषधि पसलमा शिलबन्दी

Newslaya Home

५ वटा औषधि पसलमा शिलबन्दी

बिहीबार १९, साउन २०७४

विराटनगर । विराटनगरका विभिन्न ५ वटा औषधि पसलमा शिलबन्दी गरिएको छ । औषधि व्यवस्था विभागले नियमविपरीत सञ्चालनमा रहेका औषधी पसलमा शिलबन्दी गरिएको हो ।
विभागको टोलीले सोमबार दिउँसो गरेको अनुगमनका क्रममा विराटनगरका ४ वटा र टंकीसिनवारीमा सञ्चालनमा रहेको १ समेत गर ५ वटा पसलमा शिलबन्दी गरेको हो । अनुगमन टोलीले अनुगमन थालेपछि पसल सञ्चालकहरु भागाभाग गरेका थिए । कतिपय पसलमा बिक्रेता भेटिएनन् भने कतिपय पसल सञ्चालकहरु सटर लगाएर भागेका थिए । तर टोलीले त्यस्ता पसललाई समेत तोकिएको समयभित्र आधिकारिक कागजपत्रसहित औषधि ब्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
नोबेल अस्पतालको गेट र छेउछाउमा सञ्चालनमा रहेका औषधि पसलको अनुगमन गर्ने क्रममा टोलीले कयौं पसलहरु दर्ता बिना नै सञ्चालनमा रहेको फेला पारेको थियो । यस्तै पसलधनीभन्दा बाहेकका मानिसले औषधी बेच्ने गरेको, पसलहरुमा लागू तथा मनोदिप औषधिहरुको ब्यवस्थित रेकर्ड नराखिएको र नेपालमा दर्ता नभएका औषधिहरु विक्री गर्ने गरिएको फेला परेको थियो ।
टोलीले नियमविपरीत सञ्चालनमा रहेका नोबेल गेट अगाडिको बमभोले मेडिकल हल, हरिओम मेडिकल हल र दीपशिखा मेडिकल हलसहित अन्य एक पसलमा र टंकीसिनवारीस्थित एक औषधि पसलमा सिलबन्दी गरिएको अनुगमन टोलीमा संलग्न विजय कार्कीले बताए ।