अरुण थुनिएपछी कोशी किनारमा ‘हाइ अलर्ट’

Newslaya Home

अरुण थुनिएपछी कोशी किनारमा ‘हाइ अलर्ट’

बिहीबार १९, साउन २०७४

इटहरी । संखुवासभामा अरुण नदी थुनिएपछी अरुण नदीसमेत मिसिएर बन्ने सप्तकोशी किनारका वासिन्दाहरुलाई सचेत रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
नदी थुनिएर बनेको बाँध फुट्दा आउने बाढीको जोखिमका कारण हाइ अलर्टमा रहन प्रशासनले सचेत गराएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले क्षति न्यूनिकरण गर्न कोशी किनारका स्थानीयलाई हाइ अलर्टमा रहन सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले नदीको तटिय क्षेत्रका बासिन्दालाई चनाखो रहन र उद्धारका लागि स्थानीय तथा सुरक्षा निकायलाई एलर्ट रहन निर्देशन समेत दिएको छ ।
नदी तटका जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानको खोजी गर्न समेत दैवीप्रकोप उद्धार समितिले सुरक्षा निकायलाई आग्रह गरेको छ । त्यस्तै नदीको किनारमा माछा मार्न, गाईवस्तु चराउन र डुंगामा आवतजावत गर्नसमेत रोक लगाएको छ ।
यस्तै चतरामा रहेको पानीको सतह नाप्ने राडारको डिस्प्ले बोर्ड प्रकाशपुर प्रहरी चौकीमा जडान भएपनि बिग्रिएकोले मर्मतका लागि जल तथा मौसम विज्ञान विभागमा जानकारी समेत गराइएको छ ।