नेपालद्वारा भारतीय भन्सार कार्यालय बनाउन रोक

Newslaya Home

नेपालद्वारा भारतीय भन्सार कार्यालय बनाउन रोक

बिहीबार १९, साउन २०७४

विराटनगर । नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा भारतीय पक्षले सिमा मिचेर निर्माण गर्न थालेको भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ । सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो ।
दुई महिनादेखि भारतीय पक्षले विराटनगर २१ स्थित भन्सार कार्यालयको पर्खालसँगै जोडेर जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो । भन्सार कार्यालयको काम कारबाही त्यही भवनबाट सञ्चालन गर्ने योजनाका साथ नियमविपरीत भवन निर्माण भइरहेको थियो । भारतले एकपक्षीय रूपमा दसगजा क्षेत्रभित्र भन्सार कार्यालय बनाएपछि नेपाली पक्षले आपत्ति जनाउँदै आएका हुन् ।
नेपाली सुरक्षाकर्मीको अवरोध र विरोधका बाबजुद भवन निर्माण सकेर रातको समयमा छाना लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए । रातको समयमा छानो लगाउने तयारी गरेको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल बेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराई नेत्रृत्वको टोली पुगेर छाना लगाउन रोक गरेको थियो ।
काममा रोक लगाउन पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच छानो लगाउने र लगाउन नदिने विषयलाई लिएर केहीबेर भनाभन समेत भएको थियो । दोहोरो झडप र तनावको स्थिति उत्पन्न भएपछि दसगजा क्षेत्रनजिक ठूलो संख्यामा नेपाली सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो । छानो लगाउनेलगायतका काममा रोक लगाए पनि भारतीय पक्षले भवन भने भत्काएको छैन । भवनमा लगाउन भनेर ल्याइएको छानोसमेत त्यहाँबाट उठाइएको छैन ।