एमाले फेरि मधेस पस्यो, चुनावी आँकलन गरिँदै

Newslaya Home

एमाले फेरि मधेस पस्यो, चुनावी आँकलन गरिँदै

मङ्गलबार १७, साउन २०७४

बर्दिबास । सप्तरी गोलीकाण्डपछि २ नम्बर प्रदेशमा मेची महाकाली अभियान स्थगित गरेको नेकपा एमालेले फेरि मधेस केन्दि्रत भएको छ । बुधबार महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताले २ नम्बर प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर चुनावमा होमिने बताए ।

करीव एक हजार अगुवा कार्यकर्ता सहभागी रहेको भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेलले २ नम्बर प्रदेशको विकासको खाकासहित अब एमाले मधेसमा अड्डा जमाएर बस्ने बताए । उनीहरुले मधेसी मोर्चा र कांग्रेसको धाक धम्कीसँग नडराउन कार्यकर्तालाई ढाडस समेत दिए ।

प्रदेशस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली बर्दिबास आउने भनिए पनि मौसमका कारण उनको भ्रमण रद्द भएको एमालेले जनाएको छ । भेलामा प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले २ नम्बर प्रदेशमा आउने चुनावमाव एमालेलाई पहिलो शक्ति बनाउने उद्घोष गरेका थिए ।