सुन लुट्ने गिरोह चिया पसलबाट पक्राउ

Newslaya Home

सुन लुट्ने गिरोह चिया पसलबाट पक्राउ

मङ्गलबार १७, साउन २०७४

आफुलाई प्रहरी बताउँदै सुन लुट्ने गिरोह पक्राउ परेको छ । उनीहरु ६४ तोला सुन, कालिगढसँग रहेका १३ हजार रुपैयाँ र चारवटा मोबाइल लुटेर फरार भएका थिए । घटनाबारे महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले छानबिन गरेको थियो ।
प्रहरी टोलीले धादिङ घर भई बालाजु बस्दै आएका राजकुमार तामाङलाई शनिबार बिहान पक्राउ गरेको हो । उनलाई लिएर प्रहरी सुन भागबन्डा गर्नको लागि तय गरिएको चिया पसलमा पुगेको थियो । त्यहाँ आइपुगेका प्रहरीले अरु पाँच जनालाई पनि समात्यो ।
पक्राउ पर्नेमा सोह्रखुट्टे प्रहरी चौकिका अजय गुरुङ, पर्यटक गाइड सुभास खरेल, सुन्दर तामाङ, क्षितिज तामाङ र लाप्साङ लामा छन् ।
पक्राउ परेका गुरुङले घटनामा सोह्रखुट्टे प्रहरी चौकिका हवल्दार बलबहादुर मगर र जवान नवीन ढकालको पनि संलग्नता रहेको बताए । ढकाल र मगर भने फरार छन् । यी दुईले हतकडी र पेस्तोल ल्याएर लुट्नमा सहयोग गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।