नेविसंघले माग्यो आफनै गृहमन्त्रीको राजीनामा

Newslaya Home

नेविसंघले माग्यो आफनै गृहमन्त्रीको राजीनामा

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । नेविसंघले आफनै पार्टीका गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका छन । सत्तारुढ कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले आफ्नै कार्यकर्ताको समेत सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका हुन ।

कांग्रेसका युवा नेता रविन्द्र सम्शेर शाहको हत्याको विरोधमा आयोजित सभालाई संबोधन गर्दै उनले आफ्नै कार्यकर्ताको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले कुर्सी छाड्नुपर्ने बताए । जनताको सुरक्षा गर्न नसक्ने गृहमन्त्री काँग्रेसलाई नचाहिने काफ्लेले बताए ।

प्रहरीदेखि ५ सय मिटरको दुुरीमा शाहको हत्या हु‘दा हत्यारा सजिलै भाग्न सफल भएकोभन्दै काफ्लेले प्रहरीलाई बन्दुक बोक्ने अधिकार नभएको बताए । उनले शाहलाई अबिलम्ब सहिद घोषणा गर्न र परिवारलाई क्षतीपुर्ति दिन सरकारसँग माग समेत गरे ।

नेविसंघले शुक्रबारसम्म हत्यारालाई सार्वजनिक नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ । केन्द्रिय कार्यक्रम अनुसार, ३ दिनको अल्टिमेटमभित्र हत्यारा सार्वजनिक नगरे प्रहरी प्रशासनविरुद्ध आन्दोलन केन्द्रित हुने महामन्त्री काफ्ले बताए ।

भेरी नगरपालिका ३, थाप्लेका काँग्रेस नेता ३६ बर्षीय शाहको मंगलबार ७/८ जनाको समुहमा रहेका अपरिचत ब्यक्तिको ढुंगा प्रहारबाट हत्या भएको थियो । उनीसँगै रहेका हिटलरसिंह राठौरले भागेर ज्यान जोगाएको बताएका छन् । स्थानीय पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रहेका शाह सामाजिक अगुवा मानिन्छन् ।

प्रहरी नायव उपरीक्षक भावेश रिमालले फरार अभियुक्तको पहिचान गरी सार्वजनिक गरिने बताए । अनुसन्धानका लागि भन्दै प्रहरीले रुकुमका बालकृष्ण बुढा, नरबहादुर पुन, जाजरकोटका डम्बरबहादुर सिंह, खगेन्द्र सिंह, किरण पुन, भीमबहादुर खत्री, फलेन्द्र सुनार, दीपेन्द्र शाही, शाहका सहयोगी राठौर लगायतलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको उनले जनाए ।