तुलसीको महत्व

Newslaya Home

तुलसीको महत्व

मङ्गलबार १७, साउन २०७४

तुलसी मानव जीवनको निम्ती अत्यान्तै महत्वपूर्ण मानिन्छ । तुलसी बिना साइट इफेक्ट जस्तोसुकै रोगका लागि प्रभावकारी काम गर्ने औषधिय गुण मानिन्छ ।
आर्युवेदमा बहुउपयोगी बनस्पती हो तुलसी । तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा तुलसी रोप्नु जरुरी छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा रहेको छ । यसले हामीलाई तुलसीको सम्पर्कमा पुर्‍याउँछ र स्वास्थ्य लाभ मिल्छ ।

कति प्रकारको हुन्छ ?
तुलसी पाँच प्रकारका हुन्छन् । यद्यपी चलन चल्तीमा भने दुई थरीका तुलसी छन्, श्याम तुलसी र श्वेत तुलसी । श्याम तुलसी गाढा हरियो र कालो रंगको हुन्छ । श्वेत तुलसी सेतो, हल्का हरियो रंगको हुन्छ । यी दुबैमा औषधिय गुण भरपुर हुन्छ ।

तुलसीको औषधीय गुण
कुनैपनि शारीरिक संक्रमण, रोगमा तुलसी प्रयोग गर्न सकिन्छ । यो बहुउपयोगी वनस्पती हो ।

उच्च रक्तचापमा
अहिले धेरैजसो मानिस उच्च रक्तचापले ग्रस्त छन् । उनीहरुको निम्ती तुलसी उपयोगी छ । हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउनाले प्राकृतिक रुपमा क्रमस उच्च रक्तचाप नियन्त्रण हुँदै जान्छ ।

बच्चाका लागि उपयोगी
वर्षायाममा अक्सर बालबालिका बिमार पर्छन् । संक्रमित खानेकुरा, जंकफूडले गर्दा उनीहरुको पेट पनि खराब भइरहेको हुन्छ । यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउनु पर्छ । यसले पेट स्वस्थ्य त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ ।

पेटको समस्यामा
अस्वस्थ्यकर र अनियमित खानपानको कारण अहिले धेरै पेटको रोगी छन् । उनीहरुको निम्ती तुलसी उपयोगी हुन्छ । तुलसीको पात पकाएर बिहान खाली पेटमा नियमित रुपमा पिउनाले पेटको रोग ठीक हुन्छ । यसले अजिर्ण एवं अपचको समस्या पनि हटाइदिन्छ । साथसाथै कलेजोमा पनि फाइदा पुग्छ ।

वान्ता भएमा
वान्ता भएमा तुलसीको रसमा अलैंची वा सुकुमेलको धुलो मिसाएर दिनुपर्छ । साथै तुलसीको रसमा दालचिनीको धुलो मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ ।

घाउ खटिरामा
वर्षायाममा घाउ खटिरा आउनु सामन्य हो । यस्तो अवस्थामा तुलसीको पातको रसले प्रभावकारी काम गर्छ । तुलसीको पातको रस प्रभावित भागमा लगाउनुपर्छ । यससँगै तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा अझ लाभ मिल्छ ।

यौनजन्य समस्यामा
तुलसीको सेवनले यौनजन्य समस्याबाट समेत छुटकारा दिन्छ । शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिंग शिथिलता आदिमा तुलसी उपयोगी हुन्छ । तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा मिल्छ ।

मुखको दुर्गन्धमा
मुखको दर्गन्ध हटाउनमा पनि तुलसी उपयोगी हुन्छ । नियमित रुपमा तुलसीको पात चपाउनाले मुखको दुर्गन्ध हट्छ ।

अन्य फाइदा
– टाउको दुख्यो भने तुलसीको रसले निधारमा मसाज गर्नुपर्छ ।
– खोकी लागेको बेला तुलसीको पात, अदुवाको टुक्रा पकाउने । उक्त रसमा मह मिसाएर सेवन गर्नुपर्छ ।
– यदि छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाउनुपर्छ । त्यसलाई बिस्तारै छातीमा मसाज गर्नुपर्छ ।
– तुलसीको पातको रसमा ज्वानो मिसाएर पकाउनुपर्छ, यसले पेटको जुकालाई मार्छ ।
– तुलसीको पातको रस बनाउने, त्यसलाई कपडाले छानेर कानमा लगाउनुपर्छ, कानको दुखाई ठीक हुन्छ ।
– बच्चाको पेट दुखेमा तुलसीको पातको रस मनतातो बनाएर सेवन गराउनुपर्छ ।
– तुलसीको रसले मुख कुल्ला गर्नुपर्छ, दाँत तथा गिजाबाट रगत बग्न छाड्छ ।