संघीय संरचनाअनुसार चार तहका अस्पताल हुने

Newslaya Home

संघीय संरचनाअनुसार चार तहका अस्पताल हुने

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नयाँ सङ्घीय संरचनामा आधारित चार तहका अस्पताल रहने ब्यवस्था गरेको छ । मन्त्रिपरिषदले बिहीबार पारित गरेको नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरमा अस्पताल रहनेछन् । प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चारस्तरका अस्पताल रहने व्यवस्था गरिएको हो । मापदण्डमा अस्पताललाई सेवाका आधारमा वर्गीकरण गरिएको छ ।

गाउँ तथा नगरका वडास्तरमा भने कम्तीमा स्वास्थ्यचौकी वा जनता स्वास्थ्य केन्द्र वा सामुदायिक स्वास्थ्य एकाइ हुनेछन् । मापदण्डमा सबै तहका अस्पतालमा बायोमेडिकल तथा सहयोगी उपकरणको खरिद, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनलाई वैज्ञानिक बनाइने उल्लेख छ । त्यस्तै मर्मतसम्भारलाई थप सबलीकरण र उपकरणको व्यवस्थापन गर्ने पनि उल्लेख गरिएको छ ।
नयाँ संरचना निर्माण गर्दा भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गरी निर्माण गर्नुपर्ने नयाँ मापदण्डमा व्यवस्था छ । यसअघि शय्याका आधारमा अस्पताललाई वर्गीकरण गरिँदै आएको र अब सेवाका आधारमा वर्गीकरण गरिने मन्त्रालयले जनाएको छ ।

सङ्घीय संरचनानुसार विद्यमान स्वास्थ्य सेवालाई व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ मापदण्ड बनाइएको मन्त्रालयले जनाएको छ ।