गर्मी बढे सँगै ठेउला र दादुराको प्रकोप सुरु

Newslaya Home

गर्मी बढे सँगै ठेउला र दादुराको प्रकोप सुरु

मङ्गलबार १७, साउन २०७४

गौशाला ।  गर्मी बढेसँगै तराइका जिल्लामा विभिन्न रोगको प्रकोप सुरु हुन थालेको छ । महोत्तरीमा चर्को घामसँगै अत्याधिक गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ । बदलिँदो मौसमले ल्याएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दूषित भएको कारणले रोगको प्रकोप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला भित्रका विभिन्न गाउ तथा नगरपालिकाहरुमा रोगको प्रकोप सुरु भएको कार्यालयले जनाएको छ । बिशेषगरी बालबालिकामा यो रोगको लक्षण देखिएको छ । त्यस्तैे युवायुवती, वयस्क तथा बूढापाका समेतमा यस रोगका लक्षण देखापर्न थालेको जिल्ला अस्पताल जलेश्वरका वरिष्ठ मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले बताए ।

साहका अनुसार जिल्लाका तीन नगरपालिका जलेश्वर, गौशाला, बर्दिबाससहित गाउँपालिका लोहारपट्टी, भङ्गहा, सम्सी, सोनमा, मटिहानी, महोत्तरी, एकडारालगायत १२ वटै गाउँपालिका विभिन्न गाउँठाउँमा ठेउला र दादुरा रोगको प्रकोप देखिएको छ ।
महोत्तरीका केही ठाउँमा ठेउला र दादुरालाई देवीको रुप मान्ने गरेका छन् । जसले गर्दा यो रोग रहुन्जेल तेलजन्य पदार्थ, नखाने, नलगाउने र तेलमा भुटेका खानेकुरा नखाने गर्दछन् ।

सरसफाइको अभावमा विशेषगरी गरिब परिवारमा हुने ठेउला र दादुरा रोगले महोत्तरीमा प्रत्येक वर्ष यस्तो रोगले सताउने गरेको र यस वर्ष पनि प्रकोप सुरु भइसकेको चिकित्सकहरुको भनाइ छ ।