भारतले गर्यो नयाँ सञ्चार भूउपग्रहको सफल प्रक्षेपण

Newslaya Home

भारतले गर्यो नयाँ सञ्चार भूउपग्रहको सफल प्रक्षेपण

मङ्गलबार १७, साउन २०७४

काठमाडौं– श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट भारतले दक्षिण एसियाका लागि नयाँ सञ्चार भूउपग्रह सफल प्रक्षेपण गरेको छ ।
भू–उपग्रहका लागि सम्पूर्ण लगानी भारतले गरेको छ र यसले क्षेत्रीय रुपमा संचार तथा प्रसारण सेवालाई मजबुत बनाउने उद्देश्य रहेको छ । श्रीलंका, माल्दिभ्स, बांग्लादेश, नेपाल र भुटानलाई उक्त भूउपग्रहबाट फाइदा हुने जनाईएको छ । विश्लेषकहरुले भूउपग्रह प्रक्षेपणलाई प्रधानमन्त्री मोदीको अन्तरिक्ष कूटनीति भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपणमा संलग्न वैज्ञानिकहरुलाई सामाजिक सञ्जाल ट्विटरमा बधाइ दिदैँ उनीहरुका कामबाट गर्व लागेको बताएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओलाई उक्त भूउपग्रह निर्माण गर्न तीन वर्ष लागेको जनाईएको छ । भूउपग्रहबाट फाइदा दिन जमिनमा निर्माण गर्नुपर्ने सरचनाहरु भने सम्बन्धित देशहरुले आँफै बनाउनुपर्ने रहेको छ तर त्यसका लागि भने भारतले मद्दत गर्ने बताइएको छ । प्राकृतिक विपदको समयमा विभिन्न देशहरुबीच महत्वपूर्ण सञ्चार सम्बन्ध स्थापना गर्न भूउपग्रहले मद्दत गर्ने बताइएको छ । दक्षिण एसियाले भूकम्प, चक्रवात, बाढी र सुनामी जस्ता विपदहरुको सामना बेला बेलामा गर्ने गरेको बताईएको छ ।
विज्ञानसम्बन्धी एक जना लेखक पल्लभ बागलाले दक्षिण एसिया भूउपग्रह भारतीय प्रधानमन्त्री मोदीले आफ्ना छिमेकी देशहरुलाई दिएको अत्यन्तै उपयोगी उपहार भएको बताएका छन् । यो अभियानका हिस्सेदार देशहरुले आफैँ त्यस्तो पहुँच प्राप्त गर्न झण्डै एक अर्ब डलर खर्च गर्नुपर्ने उनले बताए । यो भूउपग्रहलाई टेलिभिजन, डिटिएच सेवा, शिक्षा, टेलिमेडिसन, मौसम पूर्वानुमान र विपद व्यवस्थापन सहयोग जस्ता काममा भारत सरकाले प्रयोग गर्ने बताएको छ ।
‘भारतले भूउपग्रहसम्म पहुँच उपलब्ध गराउनुको एउटा उद्देश्य आफ्ना छिमेकी देशहरुमा बढ्दो चिनियाँ प्रभावलाई नियन्त्रण गर्नु रहेको छ ।’ चीनले पाकिस्तान र श्रीलंकाका लागि भूउपग्रहको सेवा उपलब्ध गराइसकेको छ र दक्षिण एसियाका अन्य देशलाई पनि मद्दत गर्न आफू तयार रहेको बताएको छ ।