माओवादी आक्रमणमा २४ सैनिकको मृत्यु

Newslaya Home

माओवादी आक्रमणमा २४ सैनिकको मृत्यु

सोमबार १६, साउन २०७४

नयाँ दिल्ली । भारतको छत्तीसगढमा माओवादी विद्रोहीहरुको आक्रमणबाट २४ सैनिकको मृत्यु भएको छ । माओवादीहरुले सोमबार छत्तीसगढको सुकमा भन्ने स्थानमा धराप थापेर सीआरपीएफका जवानहरुमाथि आक्रमण गरेका थिए ।
सीआरपीएफ ७४ बटालियनका २४ जनाको मृत्यु भएको र छ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारमा जनाएअनुसार चिन्तागुफा नजिक बुर्कापाल भन्ने स्थानमा सडक उद्घाटन कार्यक्रम थियो । सोही मौकामा माओवादी विद्रोहीहरुले सोमबार दिउँसो करिब एक बजेतिर धरापमा पारेर आक्रमण गरेका थिए ।
धराप विष्फोट लगत्तै गोली चलाएर आक्रमण गरिएको थियो । जवाफमा सैनिकहरुले पनि गोली चलाएका थिए । केहीबेर दुबैतर्फ दोहोरो फायरिङ भएको थियो । छत्तीसगढको सुकमा भन्ने स्थान माओवादी विद्रोहीहरुको गढ मानिन्छ । सोही स्थानमा यसैवर्ष गत मार्च महिनामा माओवादी विद्रोहीहरुले आक्रमण गर्दा सेनाका १२ जनाको मृत्यु भएको थियो ।
सन् २०१४ मा पनि माओवादी विद्रोहीको आक्रमणमा परी सीआरपीएफका १४ जना मारिएका थिए । छत्तीसगढको सुकमा भन्ने स्थानमा सीआरपीएफले माओवादीविरुद्ध कारबाही अभियान चलाउँदै आएको छ ।