प्रहरीको पुनसंरचना ‘प्रहरी विधेयक’ तयार

Newslaya Home

प्रहरीको पुनसंरचना ‘प्रहरी विधेयक’ तयार

सोमबार १६, साउन २०७४

काठमाडौँ । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको विधेयकमा संघीय प्रहरी र प्रादेशिक प्रहरीको संरचनाबारे प्रस्ताव गरिएको छ । विधेयकमा नेपाल प्रहरी संघीय प्रहरीका रूपमा रहने र संविधानअनुसार सात प्रदेशमा प्रदेशिक प्रहरी रहने व्यवस्था छ ।
प्रस्तावित विधेयकमा संघीय प्रहरी प्रमुखका रूपमा प्रहरी महानिरीक्षक रहने उल्लेख छ । यस्तै संघीय प्रहरी र प्रदेशिक प्रहरीको उत्तरदायित्व र अपराध अनुसन्धानको कार्यक्षेत्र पनि विधेयकमा निर्धारण गरिएको छ । केन्द्रीय सरकारको गृह मन्त्रालयमातहत रहने संघीय प्रहरीले संघीय फौजदारी अपराध हेर्नेछ । जसअनुसार संगठित अपराध, राज्यविरुद्धको अपराध, लागुऔषध, जासुसी, आतंकवाद, मानव बेचबिखन तथा ओसारपसार, बहुराष्ट्रिय प्रकृति वा मानवअधिकारको गम्भीर उल्लंघनलगायत संवेदनशील एवं जघन्य प्रकृतिका अपराध रहनेछन् ।
प्रदेश प्रहरीले नागरिकको जिउज्यान, स्वतन्त्रता, अधिकार र मर्यादाको रक्षाका लागि निष्पक्षतापूर्वक कानुनको कार्यान्वयन र संरक्षण गर्ने, सार्वजनिक सुव्यवस्था कायम राख्ने र प्रवद्र्धन गर्ने, आतंकवादी गतिविधि, सामाजिक सद्भाव खल्बलाउने क्रियाकलाप र आन्तरिक सुरक्षालाई असर पार्ने गतिविधि रोकथाम र नियन्त्रणलगायतका काम गर्ने विधेयकमा उल्लेख छ ।
नयाँ पत्रिकाबाट