‘ठेकेदारहरुसँग हप्ता असुली गरेर राजनितिक दलहरु चलेका छन्’

Newslaya Home

‘ठेकेदारहरुसँग हप्ता असुली गरेर राजनितिक दलहरु चलेका छन्’

बिहीबार १२, साउन २०७४

स्थानिय निकायको चुनाव नजिकिँदै आउँदा अहिले गाउँ, टोल तथा वस्तीहरुमा राजनीतिक दलहरुको पुरानो हिसाब किताब जनताले गरिरहेका छन् । कुन दल वा कुन नेताले गरेका कुन वाचा पुरा गरे वा गरेनन् भनेर जाँच गरिरहेका छन् । विभिन्न राजनीतिक दल र विभिन्न राजनीतिक चिन्तनका बिच मतदातालाई दल छनोट गर्न हम्मे हम्मे छ । यही अवसरमा नेपालमा राजनीतिक दलको चरित्र, गतिविधि र कस्तो दललाई भोट दिने भन्ने विषयमा राजनीतिक विश्लेषक मोहन तिम्सिनासँग गरिएको कुराकानीलाई यहाँ संक्षेपमा प्रस्तुत गरेका छौं :

अहिलेको राजनीतिलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
नेपालको अहिलेको राजनीति भर्खरै एउटाबाट अर्को संरचनामा पाइला टेक्दै गरेको अवस्था छ । तर जुन परिपक्वता र दिशाबोधसहित अघि बढ्नुपर्ने हो, त्यसको कमी छ । खासगरी बहुदलिय व्यवस्थाको अभ्यास भएको निकै समय भएपनि संस्थागत भएको छैन ।
नेपालका राजनीतिक दलहरु अहिले पनि दल बनिसकेका छैनन्, दल बन्ने प्रक्रियामै छन् । जस्तो, उनीहरु घोषणापत्रमा के लेख्छन् भन्ने कुरा महत्वपूर्ण हुँदैन । उनीहरुको घोषणापत्र लेखिदिनका लागि हो, गर्नका लागि होइन । राजनीतिक व्यवस्था र अगुवाहरु परिपक्व र दिशाबोध भएनन् । वैचारिक संकटको सामना सबै राजनीतिक दलले सामना गरिरहेका छन् ।
वैचारिक संकटको सामना गरेर नयाँ व्यवस्थामा राजनीतिक दलहरु जान त खोज्दैछन् । तर नयाँ व्यवस्थामा सामाजिक इन्जिनियरिङ आवश्यक पर्छ, त्यसको बाटो दलहरुले देखिरहेका छैनन् । यो वैचारिक असक्षमता हो ।

यो नेताहरुको असक्षमता हो कि उनीहरुले कुनै राम्रो सिद्धान्त प्रतिपादन गर्न नसकेको अवस्था हो ?
नेता विशेषको दोष नभइ युगको संकट नै मान्छु यसलाई । मान्छेले अहिलेसम्म विभिन्न चिन्तन प्रणालीहरु विकास गरे, सोच्ने तरिका, संसारलाई हेर्ने तरिका, प्रकिृतिलाई हेर्ने तरिका, तर एउटा संकट भोगिरहेको छ अहिलेको समाजले ।
जबसम्म अहिलेको परम्परागत चिन्तनका आधारमा बनेका राजनीतिक विचारधाराहरु छन् । ती विचारधाराप्रति जति नै बहस गरे पनि यसको समाधान हुँदैन । किनकी उनीहरु प्रकृति र मानव समाजको नियमभन्दा फरक खालको नियमको विश्वासमा छन् जसको कारण उनीहरु त्यो नियम लागू गर्न सक्दैनन् र अकर्मन्यता, आडम्बर र ढोँग देखा पर्छ । उनीहरु भन्छन् एक थोक र गर्छन् अर्कै थोक । किनभने उनीहरुको सिद्धान्तमै खराबी छ ।

जस्तै ... ?
कम्युनिष्ट भन्छ, निजि सम्पति ध्वस्त पार, सामुहिकताको अभ्यास गर । तर वास्तविकतामा जुनसुकै कम्युनिष्ट पार्टीले यो गर्न सकेन । कम्युनिष्टहरुले न त निजी सम्पत्ती त्याग्न सके, न त सामुहिकताको अभ्यास नै गरे । त्यसैले कम्युनिष्ट शब्दलाई उनीहरुले न्याय गर्न सकेनन् । कम्प्युनिष्ट पार्टी पटक–पटक सत्तामा आए । कम्यूनिष्ट व्यवस्था राम्रो हो हामी अझै सामुहिकतामा जाने, सम्पत्ती त्याग्ने प्रयास गर्दैछौँ भन्छन् तर जति प्रयास गरे पनि उनिहरु कहिलै सक्दैनन् ।
अब कुरा गरौं काँग्रेसको । उनीहरु व्यक्तिगत स्वतन्त्रता भएको समाज अनि प्रतिनिधिमूलक समाज भयो भने सबथोक समाधान हुन्छ भन्छन् । तर आफै पनि त्यो प्रतिनिधिमूलक समाज व्यवस्था गर्न सक्दैनन् । बरु झन् नातावाद कृपावादहरुले टिकट पाउँछन् । समाजका ठूला मात्र चुनिएर जान्छन् । काँग्रेसहरु कम्यूनिष्ट व्यवस्था खराब हो त भन्छन् । तर, पटक पटक पूँजीवादी व्यवस्थामा संकट आउँदा मलमपट्टि चै समाजवादी सिद्धान्तकै लाउनु परेको छ । यसरी कम्युनिष्ट र पूँजीवादीहरु दुवै विचारहरु आडम्बरमा बाँचिरहेका छन् ।

त्यसो भए अहिलेसम्मको आन्दोलनको उपलब्धी चाहिँ के त ? राणा फालियो, राजा फालियो, त्यसपछि जनताहरुलाई चाहिँ के उपलब्धी भयो त ?
बुर्जुवा संघर्षले नेपालमा राणाशाही ढाल्यो । कम्यूनिष्ट पार्टी आएर पञ्चायति र संसदीय व्यवस्थाको नाममा अपनाइएको तानाशाहीलाई ढाल्यो । तर ढाल्नु मात्र पर्याप्त छैन । नयाँ विकल्प सृजना गर्नु मुख्य कुरा हो, जसमा पूँजीवादी र कम्युनिष्ट दुवै सफल भएनन् र सक्दैनन् पनि । किनकी उनीहरुको दर्शनले उनीहरुलाई सृजना गर्नतर्फ जान दिँदैन । तर उपलब्धी केही भएकै छैन भन्ने पनि होइन ।
जनताले बोल्न पाउने, घुम्न पाउने, वैदेशिक रोजगारीको सम्भावनाहरु, सभा सम्मेलन गर्न पाउने, अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाउनेजस्ता उपलब्धी हाँसिल भएका छन् । सञ्चार क्षेत्रमा खुल्ला समाजको अभ्यास भयो । यतिसम्मको उपलब्धीलाई मान्नैपर्ला । तर वास्तविक सामाजिक, आर्थिक हिसाबले चाहीँ परिवर्तनको अनुभुती गर्न जनताले पाएका छैनन् ।

त्यसैले त जनजीविकाको सबालमा अहिलेसम्मका आन्दोलनलाई निरर्थक भन्न मिल्छ ?
निरर्थक त भन्न मिल्दैन किन कि प्रक्रिया त यही हो ।

प्रक्रियाको टुंगो कहिले लाग्छ त ? कहिले समृद्धी आउँछ ? जनताले कहिले हक, अधिकार र समानता पाउँछन ?
यो मितिसम्ममा जनता समृद्ध हुन्छन् भनेर समय तोक्ने कुरा त छैन । विकास त समाजमा गरीरहेकै छौं । राणाभन्दा पञ्चायत विकासको अवस्था हो । पञ्चायतभन्दा बहुदल विकासको अवस्था हो भने बहुदलभन्दा अहिलेको गणतन्त्र पनि विकास नै हो ।

यो त समयले मागेको स्वभानिक विकास हैन र ?
यो समय र राजनिति दुवैले दिएको विकास हो । यदि राजनीतिक पहल कदमी नचालिएको थियो भने यतिको विकास पनि हुन्नथ्यो ।
विकासकै कुरा गर्दा कतिपयले के भन्छन् भने, सैनिक शासन होस् वा राजा नै होस् तर विकास गरिदियोस् । विकास भनेको संरचना हो भन्ने बुझाइ छ । तर प्रोसेस र संरचना दुवैलाई मिलाएर बुझियो भने मात्र विकास बुझिन्छ । हैन भने खान लाउन राम्रो दियो, तर बोल्न व्यक्तिगत स्वतन्त्रता दिएन भने त त्यो बोइलर कुखुरा भइयो । मान्छेलाई बोइलर कुखुरा व्यवहार त गर्न सकिन्न । तर अर्कोतिर मान्छेलाई खान लाउन नै दिएन र फगत स्वतन्त्रताको मात्रै कुरा गर्छ भने त भोको पेटको स्वतन्त्रताको पनि काम छैन ।
त्यसैले हामीले यी दुइटै चिजलाई व्यालेन्समा राखियो भने मात्र त्यो विकास हो ।

तपाईं अहिले नेपालमा दलहरु नै बनिसकेका छैनन्, बहुदल नै संस्थागत भइसकेको छैन भन्दै हुनुहुन्छ । यो अवस्थामा कतिपय दलहरु समाजवादको कुरा गर्छन् । के यो सम्भव होला ?
ढोंग, आडम्बरमा बाँचेका राजनितिक दलहरुले केहि शब्दजालको खेति त गर्नैपर्छ । काँग्रेसको सिद्धान्तमा समाजवाद छ । कम्युनिष्टहरु त जन्मजात समाजवादी भइहाले । अब त्यो समाजवाद शब्दलाई नै दुवैले आफ्ना आफ्नै अर्थ लगाएका छन् । तर त्यहाँ भित्र समाजवादको वास्तविक संरचना के हो भन्ने विषयमा कसैले खुलाएका छैनन् । यो देखाउने दाँत हो ।
संविधानका समाजवाद लेखियो भन्दैमा लागू हुनेवाला छैन । त्यसका लागि अलग विश्व दृष्टिकोण र अलग पोलिटिकल प्रोग्रामको जरुरी छ । त्यसैले त्यो लागु हुँदैन ।

त्यसो भए अबको यो चुनावको उपलब्धी चाहिँ के देख्नुभएको छ ?
नेपालका राजनितिक दलका मानिसहरु परिपक्व छैनन् भन्ने हामीले दुई वटा संविधानसभाको निर्वाचन हेरेका छौं । राष्ट्र प्रमुख चाहिँ प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने दलले चुनाव जितेर आएपछि त्यो कुरा वकालत गर्न सक्दैन । यस्तै उदाहरणहरु काफी छन्, यो कुरा पुष्टि गर्नको लागि ।
यसपालि पनि के हुन्छ, के त भन्दा उनीहरु ठूल्ठूला घोषणापत्रका कुरा ल्याउँछन्, समाजवाद ल्याउने कुरा गर्छन् तर जब जितिसक्छन् अनि ति कुरा थान्को लाग्छन् र उनीहरुको वास्तविक पोलिटिकल संस्कार अहिले जे हो, त्यो कुरा नै अगाडि देखापर्छ । बाहिर जुन पछौटे चिन्तनमा आधारित संस्कार नै हामीले भोग्नुपर्नेछ ।
अहिले पनि टिकट बाँड्ने सिस्टम नेतामुखी छ । यो पटक पनि तल्लो तहबाट चुनेर होइन, माथिल्लो नेताको सिन्डिकेटबाट नेता छाँनिदैछ । पैसाको चलखेल भरपुर हुनेवाला छ । कालो धनवालाको पैसाले चुनाव जितेपछि जनताको होइन, कालोधन वालाकै सेवा गर्ने नेतृत्व आउनेछ ।

पछिल्लो समय सकारात्मक तरिकाले काम गर्छु भन्दै नयाँ शक्ति तथा साझा पार्टीहरु भन्दै दलहरु खुलेका छन् यिनीहरुलाई चाहीँ कसरी हेर्नु भएको छ ?
उनीहरुले नयाँ भन्ने सन्देश दिएका छन् तर नयाँ शब्दले भनेर हुन्न, व्यवहारले देखाउनुपर्छ । संस्कारमा देखाउनुपर्छ । त्यो चाहीँ हेर्न बाँकी नै छ । नयाँ शक्तिलाई पनि हेर्न बाँकी छ, तर खासै नयाँ शक्तिको पनि लक्षण राम्रो देखीरहेको छैन । अन्य राजनितिक दलहरुको पनि दृष्टिकोण क्लियर छैन । रहरको दल बनीरहेका छन् । रहरले नयाँ बनिँदैन र नयाँ हुनको लागि संस्कार र भित्रि चेतना नै नयाँ हुनुपर्छ । त्यो अनुसारको पोलिटिकल प्रोग्राम, त्यो अनुसारको दिशाबोध नयाँ हुनुपर्दछ । रहरले नयाँ बनिँदैन र यिनीहरुको यो नाटक हो । जुन नाटक दुई चार दिनपछि नै समाप्त हुन्छ ।

भनेपछि कलाकारिता तथा पत्रकारीता छोडेर राजनितिमा आउनु पनि रहर मात्र हो ?
त्यो रहर मात्र हो । त्यसको खासै ठूलो महत्व छैन ।

अब यी दलहरु बन्ने, फुट्ने क्रम चाहिँ कहिलेसम्म चलिरहला ?
यो तबसम्म चल्छ, जबसम्म नेपालमा बहुदलीय व्यवस्था परिपक्व हुँदैन ।

नेपालमा विकास किन भएन भनेर सोध्ने हो भने धेरै जना भन्छन्, भ्रष्टाचारले यस्तो भयो । भ्रष्टाचार र नेपालका राजनितिक दलहरुको सम्बन्ध चाहिँ कस्तो देख्नु भा’छ ?
भ्रष्टाचारको जड नै राजनितिक दल हुन् । यहाँ कर्मचारीतन्त्रलाई दोष लगाइन्छ तर कर्मचारीतन्त्र भन्दा एक इन्च माथि भएको राजनितिक नेतृत्वले त्यो अनुमति नदिने हो भने त्यो कर्मचारीतन्त्र भ्रष्टाचारी हुनै सक्दैन । त्यसैले यहाँ भ्रष्टाचारमा प्रत्यक्ष संलग्न नै हाम्रा राजनितिक दल छन् । उनीहरुको दल बन्ने प्रक्रिया पूरा नहुनुको एउटा कारण यो पनि हो ।
अहिले ठेकेदारहरुसँग हप्ता असुली गरेर राजनितिक दलहरु चलेका छन् । भन्सार, सडक आयोजनाहरुे अथवा धेरै जनताको आउजाउ हुने मालपोत जस्ता कार्यालयमा राजनितिक दलहरुले हप्ता उठाउँछन् र त्यसले नेताको खर्च चल्छ, अनि उनीहरु मन्त्री हुन्छन् । त्यस्तै वैदेशिक रोजगारमा नेपालका गरिब युवाहरुलाई ठग्ने मान्छे मन्त्री हुन्छन् ।
भनाईको मतलब नेपालको राजनितिक दलको स्रोत नै यहाँका कालोबजारीयाहरु, यहाँका भ्रष्टाचार गर्ने कर्मचारीतन्त्र हो । उनीहरुसँगको मिलेमतोमा पोलिटिकल नेतृत्व जिविका चलाउँछ । ऊ श्रम गर्दैन, श्रम नगरेपछि के गरी बाँच्ने त भन्दा यी यस्तै कालाधन गर्नेहरुसँग आश्रय लिएर बाँच्ने हो । त्यसो हुँदा न त नेपालको पोलिटिकल संस्कार उन्नत हुन सक्यो, न त स्वयम् दलहरु दल बन्ने प्रक्रियामा सफल हुन सके अनि न त नेताहरु नै इमान्दार र स्वच्छ बन्न सके ।

तपाईंको विचारमा भ्रष्टाचारविरोधी दलको आर्थिक स्रोत के हुन सक्छ ?
दलभित्र पूर्णकालिन कार्यकर्ताको संख्या निश्चित हुनुपर्छ । उनीहरुलाई तलब दिनुपर्छ ता कि भ्रष्टाचार नगरोस् । अनि बाँकीले श्रम गर्ने र सानो हिस्सा आफूलाई मन परेको पार्टीलाई दान दिनुपर्छ । त्यसैले होल टाइमरहरुको जीविका चल्छ । पार्टीका खर्च कार्यकर्ता तथा शुभेच्छुकको सहयोगबाट चल्नु प¥यो । त्यसरी सत्तामा गयो भने मात्र राजनीतिक सिस्टम संग्लो बन्छ ।

भ्रष्टाचार नगर्ने र विकास गर्ने कालोबजारीलाई पनि तह लगाउने नेतृत्व आउन के हुनुपर्छ ?
दुई वटा खुट्टामा उभिनुपर्छ । ती हुन्, वैचारिक दिशाबोध र मनोबल सबलता । मनोगत सबलता मात्र भयो भने मूर्खता र हठतिर जान्छ । वैचारिक दिशाबोध मात्र भयो भने त्यो पनि आदर्श मात्र हुन्छ । दुवैको संयोजन भएको नेतृत्व आउनुपर्छ ।

तर त्यो सम्भव छ ? दलहरुसँगै जनताहरुसमेत प्रलोभनमा फँसिरहेका छन् नि । 
नेता बनाउने प्रक्रिया जनताभन्दा अलग हुँदैन । नेपालका नेता खराब हुनुमा जनताको पनि दोष हो । जनताले भोट दिन्छ त्यही भ्रष्टलाई, भोलिपल्टदेखि गाली गर्न थाल्छ । जनता आफू गलत र सही नछुट्याउने, साना साना लोभमा परेर दौडिने, अनि अरुलाई गलत भन्ने । जनताको चेतनास्तरको अवस्था जे छ, राजनीति प्रणाली पनि त्यस्तै छ । जनताको चेतनाको लेभलअनुसार नेता अनि नेताको संस्कार र वैचारिक धरातलको आधारमा राजनीतिको स्तर बनेको हो । जनता परिवर्तन नभएसम्म नेता पनि परिवर्तन हुँदैनन् । नेता त फेरी अगुवा हो । अगुवाको भूमिका खेल्ने केही मानिस समाजबाट जन्मिनुपर्छ । त्यसको लागि पर्खिनुपर्छ । हामीले नपत्याएको मानिस पनि हुनसक्छ । समाजले नै पैदा गर्छ ।

यति ठूला आन्दोलनबाट नजन्मेको नेतृत्व कसरी जन्मेला ?
नेतृत्व नै नजन्मेको त होइन । हामी एउटा युग सकेर अर्को युगको नेृतृत्व गर्ने अवस्थामा छौं । यो नेपालको मात्र होइन, विश्वकै संकट हो । हामीे ठूलो वैचारिक विश्व दृष्टिकोणको सुरुवातको अवस्थामा छौं । त्यो आधारमा एउटा नयाँ सामाजिक जागरण आउँछ । यान्त्रिक भौतिकवादी र परम्परावादी सोँचलाई पराजित गर्न वैचारिक जागरण विश्वमै पैदा हुने वाला छ ।
हाम्रा राजनीतिक धारणाहरु संकटमा परेका छन् । अहिलेकै बनिबनाउ राजनीतिक विचारधाराको आधारमा चाहिँ समाज परिवर्तन हुँदैन । कम्युनिष्टले अहिले पनि अतिरिक्त मूल्यको सिद्धान्तको कुरा गर्छन् र मजदुरलाई शोषण भयो भन्थे । हिजो मानवीय श्रमको आधारमा अर्थशास्त्र र त्यही आधारमा राजनीतिक विचारधारा बनेका थिए ।अहिले उत्पादन भन्दा पनि सेवा उद्योगमा धेरै मानिस सरिसके । अहिले धेरै कामहरु सफ्टवेयरले चल्छ तर त्यो आधारमा हामीले हाम्रो सोसियल इन्जिनियरलाई दौडाएका छैनौं ।

नेपाललाई नेतृव गर्ने सकारात्मक नेतृत्व आउँदैन भन्नुभएको छ, भएका नेतृत्वको पनि विकल्प छैन । अबको चुनावमा कस्तो पार्टीलाई जिताउने ?
अहिलेका पार्टीहरु रहरले होइन, बाध्यताले खराब भएका हुन् । उनीहरु असल हुने ठाउँ नै छैन । उनीहरुको चिन्तनको धरातल, इतिहास र पार्टीको संरचनाको हिसाबले असल काम गर्न सक्ने अवस्थामा छैनन् ।
अनि अर्को कुरा, नेपालमा राजनीतिक विचारधाराको आधारमा अहिलेसम्म चुनाव भएको छैन । नयाँ हेरौं न त भन्ने नयाँ मान्यताको आधारमा भोट दिइरहेका छन् । प्रदेशको चुनाव पनि त्यही आधारमा दिने हो, तर स्थानिय चुनाव चाहिँ व्यक्तित्वको चुनाव हो ।
तर पनि सबै मानिस खराबै खराब पनि हुन सक्दैनन् । अवसर र प्रोत्साहन पाउने हो भने खराब पनि असल बन्न सक्छ । परिवर्तन वा रुपान्तरण हुने सम्भावना भएकाहरुलाई व्यक्तित्वको आधारमा भोट दिउँ । भोलि निगरानी राख्दा पनि रुपान्तरण हुन्छ भने भोट दिउँ ।

अन्तीममा नेपालका राजनीतिक दलहरुलाई के भन्नुहुन्छ ?
बढीभन्दा बढी इमान्दार भएर जे बोल्नुहुन्छ, त्यही गर्नुहोस् भन्छु । नेताहरु जन्माउने हामी जनता नै हौं । त्यसैले नेतालाई धेरै गाली नगरौं । असल नेता कसरी जन्माउने र त्यसमा हाम्रोे भूमिका खोज्ने काम गरौं ।