भरतपुरमा मतपत्र च्यात्ने धरौटीमा रिहा

Newslaya Home

भरतपुरमा मतपत्र च्यात्ने धरौटीमा रिहा

आइतबार १५, साउन २०७४

भरतपुर । चितवनको भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ । निर्वाचन आयोगले च्यातिएको मत गन्न निर्देशन दिएपछि बिहीबार च्यातिएको मतपत्र गनिएको हो ।
यस्तै भरतपुर महानगरपालिकाको मतगणना भइरहेको स्थानमा गएर गत आइतबार मध्यरातमा मतपत्र च्यातेको आरोपमा प्रहरीले पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई अदालतले धरौटीमा रिहा गरेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले निर्वाचन कसुर ऐन–२०७३ को दफा १६ उप दफा २ बमोजिम १–१ लाख धरौटी लिएर निज आरोपीलाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार धनिप्रसाद चापागाईंले जानकारी दिएका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बखत मतगणनास्थलमा प्रवेश गरी माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । उक्त घटनापछि एमाले र माओवादीबीच मतगणना सुचारु गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ ।