‘पूर्वमै पैसा तिरेर नाटक हेर्ने दिन आउँछन्’

Newslaya Home

‘पूर्वमै पैसा तिरेर नाटक हेर्ने दिन आउँछन्’

बुधबार ११, साउन २०७४

इटहरीमा रहेर नाट्य निर्देशन र कला क्षेत्रमा सक्रिय सोनु जयन्तिले इटहरीको सुस्ताएको नाट्य क्षेत्रमा पुनताजगि ल्याएको धेरै रंगकर्मिहरु बताउँछन्  । आजभन्दा एक दशक अगाडी उनकै नेतृत्वमा स्थापित कलालय नामक नाट्य संस्थाबाट संस्थागत रुपमा नाट्य क्षेत्रमा सक्रिय जयन्तिले नेपालमै पहिलो पटक ‘होम थिएटर’ र ‘स्कुल थिएटर’ जस्ता नाट्य कार्यक्रमले विद्यार्थी देखि गृहणी सम्मलाई नाटकमा आर्षित गरेको धेरै कलाप्रेमिहरुको भनाइ छ । कलालय एक दशक पुगेपछिको अवस्था र पूर्वको नाट्य भविष्य विषयमा विराट अनुपमले सोनु जयन्तिसँग गरेको कुराकानी :
शब्दकोष मै नभएको यो कलालय नाम चै कसरी जुर्यो ?
हामी नृत्य, पेन्टिङ र कलाका अन्य क्षेत्रहरुमा काम गरिरहेका थियौँ । यि सबैलाई समेट्न एउटै नामको संस्था बनाउने प्रस्ताव आयो । साथिहरु केशव खनाल, जीवन पौडेल, योसा यमुना गुरागाई लगायतको त्यो जमातमा २०६४ साल भदौ १६ गते कलालय नाम जुर्यो । जसरी विद्या आर्जन गर्ने ठाँउ विद्यालय हुन्छ, जसरी शिवको स्थान शिवालय हुन्छ र वाचन गर्ने ठाँउ वाचनालय हुन्छ त्यसैगरी कलाको काम गर्ने ठाँउ भएकोले कलालय हुन्छ भनेर हामीले त्यो नाम फाइनल गरेका हौँ । पछि शब्दकोषमा त्यो नाम भेटिएन । तर शब्द भन्दा शब्दकोष कान्छो हुने भएकोले हामीले शब्दकोषमा कलालय छ छैन भन्दा पनि कलालय हुनुपर्छ भनेर त्यो नाम जुरायौँ । आज इटहरी र अन्य धेरै ठाउँमा कलालय स्थापित नाम भईसकेको छ ।
कलालय स्थापनको दशक पुरा हुनै लागेको अवसरमा कलालयले गर्व गर्ने के काम गर्यो ?
हामीले करिब हजर जना जति विद्यार्थीहरुलाई नाट्य क्षेत्रमा आकर्षित गर्यौँ । अथवा त्यत्तिको संख्याका मान्छेलाई नाटक क्षेत्रमा दर्शक नभएर कलाकारको रुपमा उभ्याएर नाटकको ब्राण्डिङ गर्ने प्रयास गयौँ । हामीसँग जोडिएका सय जनाको हाराहारीको कलाकार पंक्ति अहिले इटहरी र राजधानीमा रहेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नाटकमा काम गर्दै आएको छ । हाम्रो प्रयास सफल भएको छ । जस्तो स्कुल थिएटरको पहिलो श्रङखलामा हामीले दर्शक बटुल्न एक जनालाई सात पटक सम्म फोन गरेका थियौँ । अहिले आएर स्कुल थिएटरको पाचौँ श्रङखलामा भने हामीले टिकट विक्रि गरेरै आफ्ना नाटकहरु मञ्चन गर्यौँ । यो पटक हामीले सबै खर्च कटाएर बाह्र हजार त बचत गरेका छौँ ।
फरक प्रशंगमा कुरा गरौँ, तपाईं किन विना स्कृप्टका नाटकहरु गर्नुहुन्छ अथवा भनौँ त्यस्ता नाटकमा तपाईंको रुची किन ?
तपाईं र म अहिले बोलिरहेका छौँ तर यहाँ कुनै स्कृप्ट त छैन । यो पनि एक खाले नाटकै हो । यो नाटकमा विना स्कृप्ट सहज भयो भने रियल नाटक पनि सम्भव छ । स्कृप्ट त नाटकलाई सहज गर्न ‘यस्तो पनि हुन सक्छ’ भनेर लेखिएको लेखौँट मात्रै त हो ।
कलालयले एक दशक पार गरेको कुरा गर्वसाथ गर्नुुहुन्छ तर तपाईंले विराटनगरमा जस्तो इटहरीमा पनि नाट्यगृह बनाउन किन सोच्नु भएन ?
तपाईंलाई जेट अगाडी राख्दैमा हुन्छ ? चलाउन जान्नु परेन ? हो, नाटकमा पनि त्यस्तै हो । मुख्य कुरा मान्छे तयार हुनु हो । मान्छे तयार भएपछि मात्रै भवनका कुराहरु महत्वपुर्ण हुन् । मान्छेभन्दा भवन तर्फ बढी ध्यान दिएमा को कुन पदमा बस्ने, कस्को पहलमा के हुने भन्ने कुराले असहज गर्छ । आज विराटनगरमा त्यत्रो गुरुकुलको भवन भएपछि नियमित नाटक गर्न नसक्नु भनेको कलाकारकै अभाव त हो । हो भवन चाँहिन्छ तर पहिला कुरा कलाकार नै हो ।
राजधानीमा तीन सय, पाँच सय र हजार तिरेरै नाटक हेर्ने संस्कार बिस्तारै बस्दै गएको छ । पूर्वका नाटकमा बढी नै काम गरिरहेका इटहरी, धरान, विराटनगर र दमकमा त्यो कहिले सम्भव होला ?
पूर्वमा पनि टिकट काटेर नाटक हेराउन संभव छ । कुनै बेला तारकातार फोन गरेर स्कुल थिएटरका नाटकहरु हेर्ने इटहरीको सहरी पुस्ता अहिले आफैँ चासो दिएर टिकट काटेरै हाम्रा वार्षिक नाट्य मञ्चनहरुमा आउँछन् । स्थानिय र मैलिक कथा, राम्रा कलाकार र कर्पोरेट हाउस तथा स्थानिय सरकारको थोरै मात्रै सपोर्ट हुने वित्तिकै पूर्वमै पैशा तिरेर नाटक हेर्ने दिन आउँछन् ।