श्रीमतीको लागि भोट माग्दै ७३ वर्षिय श्रीमान

Newslaya Home

श्रीमतीको लागि भोट माग्दै ७३ वर्षिय श्रीमान

आइतबार १५, साउन २०७४

इटहरी । अगाडी श्रीमती कुर्ता र इस्टकोटमा सजिएर स्कुटर हाँक्दैछिन् । पछाडी श्रीमान् सामान्य सर्ट पाइन्टमा स्कुटरमा गोलाकार भित्रको हसिँया हतौडाको लोगोसहितको झण्डा समातेर बसेका छन् । दुवैको उमेरमा निकै अन्तर देखिन्छ ।
श्रीमान रिपुचरन चौधरी ७३ वर्षका हुन् भने उनकी श्रीमती रेणुका चौधरी ४२ वर्ष मात्र पुग्दैछिन् । दुवैलाई चुनाव लागेको छ । श्रीमती गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार हुन् ।
उमेरले घरमा आराम गरेर बस्न सल्लाह दिन्छ । तर श्रीमती नै गाउँपालिकाको चुनावमा उठेपछि आराम गरेर बस्न श्रीमानले कहाँ पाउँछन् र ? चौधरीको दैनिकी आजकल श्रीमतीसँगैको दौडधुपमा बित्ने गरेको छ । शरीर वृद्ध भएपनि बिहानदेखि साँझसम्म श्रीमतीसँगै भोट माग्न व्यस्त हुन्छन् ।
पहाडे दलित समुदायकी रेणुका माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकी छिन् । थारु समुदायको बाहुल्यता रहेको गाउँपालिकामा उनलाई थारु समुदायकै श्रीमानले साथ दिइरहेका छन् ।
१७ वर्षको कलिलो उमेरमै ४८ वर्षिय अधवैशे रिपुचरणसँग रेणुकाको प्रेम विवाह २५ वर्षअघि भएको थियो । तेह्रथुम घर भएकी रेणुकाको भेट गाविस सचिव भएर तेह्रथुममै खटिएका बेला रिपुचरनसँग भएको थियो ।
जेठी श्रीमती दीर्घरोगी बनेपछि घरपरिवारको हेरचाहकालागि पहाडे दलित समुदाय माइती भएकी रेणुकासँग प्रेमविवाह गरेका थिए रिपुचरनले । विवाहपछि मोरंगको तेतरिया आएर सफल घरजमसँगै समाजिक सेवामा सहभागी हुन थालेकी रेणुकाले पार्टीबाट उपाध्यक्षको टिकट पाइन् ।

आफनो निर्भिक सक्रियताले गर्दा नै आफुले पार्टी उपाध्यक्षको उम्मेदवारको टिकट पाएको बताउने रेणुका चुनाव जित्न कम्मर कसेर लागिपरेकी छिन् । तीन छोरी र एक छोराकी आमासमेत रहेकी रेणु आफ्नो उम्मेदवारी समाजिक अन्र्तघुलनका लागि भएको बताउँछिन् । सबै नेपालीहरु आपसमा अन्र्तघुलित भएर बसेमात्र समाजमा विकासले दिगो गति लिने उनको विश्वास छ । थारु समुदायका श्रीमानसँग विवाह गरेपछि अन्तर जात र अन्तर क्षेत्रका आधारमा फरक अनुभव सँगालेकी रेणुकामा दह्रो आत्मविश्वास पनि छ । भन्छिन्, ‘सबैखाले मतदाताहरुको सहयोगले चुनाव जित्छु ।’
आफू न पहाडे, न तराईको रैथाने, सबैको साझा उम्मेदवार भएको भन्दै भोट माग्दै हिडेको उनी बताउँछिन् । श्रीमान रिपुचरण पनि श्रीमतीको लागि घरघरमा भोट मागिदिन्छन्, ‘मेरी श्रीमती रेणुका उम्मेदबार बनेकी छन साझा हितका लागि भोट दिएर जिताउनु पर्छ है ।’ उनीहरुको अन्तरजातिय विवाह र यो साथले समाजमा जातिय एकताको सन्देशसमेत दिएको छ ।
२५ मतदान केन्द्र र २१ हजार २०९ मतदाता रहेको ग्रामथान गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा छ । अन्य पार्टीका उपाध्यक्षका उम्मेदवारहरु आफूभन्दा धेरै कमजोर रहेकोले आफनो जित सहज रहेको दावी रेणुका र उनका पति रिपुचरनको छ । थारु भाषा राम्रोसँग बुझ्न र बोल्न सक्ने रेणुका चौधरी समुदायमा पनि लोकप्रिय छिन् ।
सामाजिक अन्तरघुलनसँगै उनका केही प्रतिबद्धताहरु पनि छन् । ‘साँस्कृतिक एकता बलियो बनाउने, महिलाहरुका लागि सशक्तिकरण योजना चलाउने, थारु जेष्ठ नागरिकहरुले पाइरहेको कष्ट हटाउन वृद्ध चौतारी निर्माण गरेर पौष्टिक आहार र स्वास्थ्य सेवा प्रदान गर्ने योजना छ,’ उनी भन्छिन्, ‘विकास निर्माणमा साझा र समान सहभागीता गराउने, थारु समुदायको ऐतिहासिक ग्रामथान सँस्कृतिलाई सरंरक्षण गरेर पर्यटनको आकर्षण बनाउने लगायतका योजना छन्, जिते भने सबै काम गर्छु ।’