जिल्ला समितिसहित राजपाका जिल्ला अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

Newslaya Home

जिल्ला समितिसहित राजपाका जिल्ला अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

बिहीबार १२, साउन २०७४

इटहरी । राष्ट्रिय जनता पार्टी सुनसरी जिल्ला समितिसहित जिल्ला अध्यक्ष उमेश साह नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको इटहरी वडा नं. १७ ले मंगलबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा राजपाका १ सय जना नेता कार्यकर्तासहित अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनले पार्टी प्रवेशसँगै माओवादीको एजेन्डामा मुलुक अघि बढिरहेको बताए । नयाँ संविधान, धम्िनरपेक्षता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरण माओवादीकै एजेन्डा भएकाले अहिले स्थानीय तहको निर्वाचनमार्फत कार्यान्वयन भइरहेको नेता साहले बताए । सफलरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउँदै उनले मधेस केन्द्रित दललाई समेत दोस्रो चरणमा हुने निर्वाचनमा सहभागी गराएर सबै समूहलाई संविधानको सर्वस्वीकार्यता गराउने काममा माओवादीको नेतृत्वदायी भूमिका रहेको समेत उनले बताए ।
त्यसैगरी, सोही कार्यक्रममा वैध माओवादीका नेता रामप्रसाद पौडेल, मानबहादुर बस्नेत पनि माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका छन् । त्यस्तै संघिय समाजवादी पार्टी जिल्ला सदस्य विवीहाङ्ग राईको नेतृत्वमा भीमबहादुर राई, इन्द्रकुमार भुजेल, मनिकला राई लगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राईले माओवादी केन्द्रले आदिवासी, सीमान्तकृत, दलित, महिलाको अधिकारलाई सुनिश्चित गरेर मुलुकलाई परिवर्तन गरेकोले आफू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । त्यसैगरी, नेता पिताम्बर थापा (भुपाल) पनि सोही कार्यक्रमको अवसरमा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रभातकुमार आचार्यले ४८ बुँदामा प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । विकास निर्माण, शिक्षा, पर्यावरणको क्षेत्रमा आफूले काम गर्ने आचार्यले घोषण गरेका छन् । सुकुम्वासी समस्या सामाधान आफ्नो पहिलो काम भएको उनले बताए । उनले कृर्षि व्यवसायिकरणलाई पनि प्राथमिकतामा राखेको बताए । युवा तथा खेलकुद, प्रविधिको विकाससँग वडावासीलाई परिचालन गरिने पनि उनले सार्वजनिक गरे । सोही वडाको राधाकृष्ण मन्दिरको निर्माण कार्यलाई पूर्णता दिने उनको भनाइ छ । औद्योगिक विकास, शान्ति सुरक्षा र न्यायलाई पनि उनले प्राथमिकता दिएका छन् । सुशासन हटलाईन सेवाको व्यवस्थाजस्ता ऐजेण्डा लिएर आफू चुनावमा होमिएको उनले बताए । कार्यक्रमलाई माओवादी केन्द्रका प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले सम्बोधन गरेका थिए ।