दोस्रो चरणको चुनाव असार ९ गते

Newslaya Home

दोस्रो चरणको चुनाव असार ९ गते

बिहीबार १२, साउन २०७४

काठमाडौं । जेष्ठ ३१ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गतेका लागि सरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।
लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् । पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते सार्ने निर्णय लिनु परेको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सरकारले शुरुमा वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने घोषणा गरेपनि मधेसी दललाई सहमतिमा ल्याउन भन्दै दोश्रो चरणको चुनाव जेठ ३१ गते गर्ने निर्णय गरेको थियो । तर जेठ ३१ गतेको चुनावमा सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि उनीहरुलाई सहभागी गराउन सरकारले फेरि मिति सारेको हो । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ का ३८१ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ ।
उता चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । चुनाव मिति सार्ने सरकारको निर्णय सकारात्मक भएको र निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भए आफुहरु चुनावमा जाने बाटो खुल्ने समेत उनले बताए ।
चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने या स्थगित हुने उनले बताए ।